केही दिनदेखि बेपत्ता रहेका सिन्धुलीको गोलन्जोर–६ का हायू परिवारका सदस्यहरू पोखरामा पुगेको खुलाशा भएको छ । उनीहरू गत शनिबार पोखराको न्युरोडस्थित होटल जननीमा पुगेको खुलेको हो ।

होटल सञ्चालक सुनिल भूर्तेलका अनुसार उनीहरू शनिबार आएर आइतबार नै होटलबाट चेक आउट गरेका थिए। “तीनवटा कोठा लिएर बसेका थिए,” भूर्तेलले भने, “१५/१६ जना जस्तै देखिएका थिए ।”

उनका अनुसार ती सबै व्यक्तिहरू शान्त र सामान्य व्यवहारका थिए, तर परिवारका सबै सदस्य एकैसाथ समूहमा आएकाले आफूले चासोका साथ हेरेको बताए।

उनीहरूले होटल छाडेपछि सञ्चालक भूर्तेलले घटनाबारे प्रहरीलाई जानकारी गराएका छन्। “परिवारको खोजी भइरहेको समाचार सुनेकाले म आफैंले प्रहरीलाई खबर गरेँ,” उनले भने।

यसअघि सिन्धुली प्रहरीले बेपत्ता १६ जनाको खोजी गरिरहेको जनाउँदै काठमाडौंमा बस्दै आएकी परिवारकी एक सदस्य सुजाता हायूसँग सम्पर्क भएको जानकारी दिएको थियो। उनीहरूले स्वेच्छाले पोखरा गएका हुन् या अन्य कारण छ भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हाल प्रहरीले पोखरास्थित सीसीटीभी फुटेज, होटल रेकर्ड र सम्भावित ट्राभल विवरण संकलन गर्दै थप खोजी तीव्र बनाएको छ। परिवारका सदस्यहरू किन बेपत्ता भए, किन सम्पर्कविहीन भए र अब कहाँ छन् भन्नेबारे यकिन विवरण आउन बाँकी नै छ।

स्थानीयबासी र आफन्तहरू भने परिवारको सकुशल फिर्तीको पर्खाइमा छन्। हायू परिवारको यो सामूहिक बेपत्ता घटना रहस्यमय बन्दै गइरहेको छ।

यता सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बेपत्ता भएकाहरु पोखरामा रहेको सूचना आएको र त्यसको पुष्टि गर्न सुरक्षा अधिकारीहरू लागेको जानकारी दिए ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय