
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएको हायु समुदायको एकै परिवारका १६ जना सदस्य एकसाथ बेपत्ता भएका छन्। तीन दिनदेखि परिवार सम्पर्कविहीन भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।
बेपत्ता परिवारका सदस्यहरूमध्ये एक छोरी काठमाडौंमा र एक बुहारी विदेशमा रहेको जनाइएको छ। बाँकी १६ जना घरमै बस्दै आएका थिए।
वडाध्यक्ष रविनकुमार श्रेष्ठ र प्रहरी टोली सोमबार बिहान घटनास्थल पुगेका थिए। उनीहरूका अनुसार घरको भान्सातर्फको एक भाग आगलागीबाट आंशिक जलेको, तर मानव उपस्थिति नभएको देखिएको थियो।
घरमा भैंसी, बाख्रा, कुकुर लगायत चौपाया अलपत्र अवस्थामा फेला परेका छन्। घरका सबै मोबाइल फोनहरू पनि स्विच अफ रहेको पाइएको छ।
बेपत्ता परिवारले साउन ९ गतेमात्रै हायु समुदायका लागि सरकारले दिने भत्ता बुझेका थिए। १२ जनाले जनही १२ हजार रुपैयाँका दरले कुल १ लाख ८० हजार रुपैयाँ झिकेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।
“भत्ता बुझेपछि सामान्यजस्तै देखिएको थियो, तर त्यसपछि सम्पर्कविहीन भएका हुन्,” श्रेष्ठले बताए।
परिवारले भैंसी र सुँगुर पालन गर्दै आएको थियो। केही दिनअघि मात्रै सुँगुर काटेर मासु खाएका र बिक्री गरेका तथ्य पनि खुलेका छन्।
परिवार ऋण मा डुबेको र बैंक तथा वित्तीय संस्थाहरूका कर्मचारीहरू घरमा ऋण असुली गर्न आएको बताईएको छ ।
यिनी हुन् सम्पर्कविहीन १६ जना
उर्मिला हायू (५२)
कमला हायू (२६)
कोमलमाया हायू (२३)
उषा हायू (३९)
सुजता हायू (२१)
अस्मिता हायू (२८)
राजु हायू (२९)
हिमाल हायू (२४)
लालबहादुर हायू (१६)
वेगबहादुर हायू (१४)
लक्ष्मण हायू (११)
सवर्ण हायू (१२)
ओमकुमारी हायू (१०)
अर्जुन हायू (१)
रियासा हायू (४)
एकजना ज्वाइँ (नाम नखुलेको)
प्रहरी अनुसन्धान जारी
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल खड्काका अनुसार, घटनास्थलमा प्रहरी टोली खटाइएको छ र सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ।
“हालसम्म उनीहरूको अवस्था वा बसोबासको कुनै सुराकी भेटिएको छैन। अनुसन्धान जारी छ,” डिएसपी खडकाले भने।