बिहिबार , साउन १६, २०८२

रिठ्ठेपानीको शान्ति खहरे। एउटा सानो छाप्रो—टिनले छाएको, माटोले टेको लगाइएको। त्यही छाप्रोमा जङ्गे सार्की, ५८ वर्षका। र छुनु भन्ने जमुना नेपाली, ५३ वर्षकी। दुवैका आँखामा थकान थियो, मनमा बाँकी थियो केवल जिन्दगी बाँच्ने विवशता।

जङ्गे र जमुनाको सम्बन्ध प्रेमको परिणाम थिएन—दुर्भाग्यको मिलन थियो। ३५ वर्षअघि जङ्गेको पहिलो श्रीमती एक वर्षको छोरोलाई छाडेर गइन्। त्यो बच्चालाई जमुनाले अंगालेकी थिइन्—नभएको आमाको माया दिइन्, नपाएको घर बनाइन्।

बीस वर्षअघि उनले सँगै बाँच्ने निर्णय गरे—न त धरौटी थियो त्यो सम्बन्धमा, न त भरोसाको कागज।जङ्गे ज्यामी काम गर्थे, दिनभर पसीना बगाउँथे। जमुना बिहानदेखि रातसम्म घरायसी काममै व्यस्त हुन्थिन्। उनीहरू सँगसँगै बाँच्थे—तर कहिल्यै नजिक थिएनन्। थाकेका शरीर एउटै ओछ्यानमा पल्टिए पनि बीचमा थियो वर्षौँको मौनता।

साउन ६ गतेको रात थियो। आकाश बादलले ढाकेको थियो, छाप्रो भित्र एक बोत्तल रक्सीको झल्को थियो।“जग्गा बेचौं,” जङ्गेले भने।जमुनाले टुक्र्याइन्, “बेच्दिन।”त्यो ‘बेच्दिन’ जङ्गेलाई गिज्याएजस्तै लाग्यो।

दुई मुक्का हानिए।जमुनाको टाउको भित्तामा ठोक्कियो।शरीर चुरचुरिएर ओछ्यानमै ढल्यो।जङ्गे छाप्रोबाट बाहिरिए—सुत्न।भोलिपल्ट बिहान चिया पिए, शिशुवा हिँडे।साँझ फर्किए, खाना बनाए, खाए।तर, श्रीमतीको अनुहार एकपटक पनि हेरिएन।साउन ८ सम्म लाश सड्न थालिसकेको थियो। छिमेकीले दुर्गन्ध थाम्न सकेनन्।प्रहरी आइपुग्यो।
जमुनाको चिसिएको शरीर ओछ्यानमा चुपचाप लडिरहेको थियो।

तीन दिनसम्म जङ्गे त्यसै छाप्रोको वरिपरि घुमिरहे।तीन दिनसम्म उनले आफ्नी मृत श्रीमतीलाई “के भयो?” भनेर सोधेनन्।तीन दिनसम्म उनले केही बोल्न चाहेनन्—सायद भित्रैभित्रै आफूलाई सजाय दिइरहेका थिए।तर अपराधको बोझ मौनताले कम गर्दैन।

प्रहरीले नियन्त्रणमा लिएपछि जङ्गेले भने,“मैले हानेँ… भित्तामा ठोक्किएर मरी। म सुत्न गएकै थिएँ बाहिर।”त्यति सहज लाग्यो जस्तो बोले उनले—जस्तै एउटा सिगरेट सकियो भनेर भन्ने मान्छेले भन्छ।

जमुनाले जिन्दगीका २० वर्ष जङ्गेलाई दिइन्।त्यही जङ्गेले उनको सास लुटे।त्यो छाप्रो अब सुनसान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय