
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरमा लिभिङ टुगेदरमा बस्दै आएकी २२ वर्षीया निर्मला थापाको आफ्नै प्रेमी प्रकाश सुनारले सलको पासो लगाई हत्या गरेका छन्। बर्दियाका ३५ वर्षीय प्रकाश विवाहित थिए र दुई सन्तानका पिता समेत हुन्।
तीन वर्षदेखि सहजीवनमा रहेका उनीहरूबीचको सम्बन्ध अन्ततः हिंसात्मक मोडमा पुग्दा निर्मलाको ज्यान गएको हो। निर्मला दैलेखकी हुन् र नेपालगन्जको बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। प्रकाश भने नेपालगन्जमै रहेको स्वस्तिक कटेजमा ‘क्याप्टेन’ पदमा काम गर्दै आएका थिए।
हत्या भएपछि प्रकाशले निर्मलाकी बहिनीलाई फोन गरी आफूले हत्या गरेको जानकारी दिएका थिए। त्यसपछि उनी फरार हुन खोजे पनि प्रहरीले नेपालगन्जको धम्बोझी क्षेत्रबाट उनलाई पक्राउ गर्यो। घटनास्थल उनीहरू सँगै बस्दै आएको डेरा थियो।
प्रहरीका अनुसार, प्रकाशले बयानमा निर्मलालाई ‘कान्छी श्रीमती’ भनेका छन्। तर यो सम्बन्धमा कुनै वैवाहिक प्रमाण, पारिवारिक सहमति वा कानुनी वैधता छैन। प्रारम्भिक अनुसन्धानमा मानसिक तनाव, आपसी विवाद वा पारिवारिक दबाब हत्या हुन सक्ने सम्भावित कारणका रूपमा उल्लेख गरिए पनि ठोस कारण भने खुल्न बाँकी छ।
घटनापछि निर्मलाको शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको थियो। शनिबार पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको छ। मृतकका परिवारले प्रकाशलाई कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएका छन्।
नेपालमा बढ्दो लिभिङ टुगेदर सम्बन्धहरूप्रति कानुनी स्पष्टता नभएको, महिलाको सुरक्षा ग्यारेन्टी नभएको र समाजको स्वीकारोक्ति कमजोर भएको भन्दै समाजशास्त्रीहरूले पनि चासो व्यक्त गरेका छन्। उनीहरू भन्छन्, ‘‘विवाहबाहेकको सहजीवन कानुनबिहीन र असुरक्षित क्षेत्र हो, जसमा विशेषगरी महिलाहरू बढी जोखिममा पर्छन्।’’
प्रहरीले हाल प्रमाण संकलन, अभियुक्तको विस्तृत बयान, घटनास्थलको अध्ययन र फरेन्सिक परीक्षणमार्फत अनुसन्धान अगाडि बढाइरहेको छ। प्रकाशमाथि मुलुकी अपराध संहिता अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
यस घटनाले केवल एक युवतीको हत्या मात्र होइन, समाजमा वैवाहिक बाहिरको सम्बन्ध, व्यक्तिगत स्वतन्त्रता र कानुनी सुरक्षाबीचको गम्भीर द्वन्द्वलाई पनि उजागर गरेको छ।य हो।’ बाँकेका अग्रज पत्रकार शरण कर्माचार्यले भने ।