बिहिबार , साउन १६, २०८२

कोशी नहरको किनार। नहर छेउमा घामको मधुरो किरण फैलिँदै थियो। केही स्थानीय गाईबस्तु चराउँदै थिए, कोही चिया पिइरहेका थिए। त्यत्तिकैमा एकजनाको नजर पर्यो— एक जना मानिस लडेजस्तै देखिन्थे। छेउमै थियो एउटा पुरानो साइकल।

साइकल, जुन डाक्नेश्वरी नगरपालिका–४ कुशहाका २७ वर्षीय रामकिसुन रायको जीवनसाथीजस्तै थियो। बिहान स्कुल जान, बजार पुग्न, अस्पताल धाउन — त्यो साइकल उनको सधैंको यात्रा थियो। शुक्रबार भने, त्यो साइकल चुपचाप थियो। मानौं उसले आफ्ना मालिकको पीडा देखेको थियो, तर केही गर्न सकेन।

रामकिसुन गाउँको एक बोर्डिङ स्कुलमा पढाउँथे। आर्जन धेरै थिएन, तर सन्तोष चाहिँ थियो। पाँच वर्षकी छोरी, तीन वर्षका छोरा र श्रीमतीसहितको सानो परिवार थियो उनको संसार। सादा रहनसहन, विनम्र व्यवहार र चुपचाप जिउने बानी। गाउँलेहरू उनलाई ‘शान्त स्वभावको गुरुजी’ भन्थे।

तर पछिल्ला महिनाहरूमा उनले अनुहारमा देखिएको हाँसो हराउँदै गयो। स्कुलमा पनि कम बोल्ने, छिटो घर फर्किने। मुख र घाँटीमा देखिएको घाउले उनलाई पीडामा पारिरहेको थियो।

दरभंगा पुगेका थिए उनी – उपचार गर्न। भारतबाट फर्किएपछि त उनी अझै चुपचाप भए। नजिकका साथीहरूलाई भन्न थाले, “म धेरै दिन बाँच्दिन होला, मलाई क्यान्सर भएको छ।”

उनको यो भनाइलाई धेरैले सुरुवातमा हल्का रुपमा लिए। तर परिवारले बुझ्न थाल्यो— उनी भित्रभित्रै टुटिरहेका छन्। अस्पतालको खर्च, बालबच्चाको भविष्य र आफ्नो जीवनको अनिश्चितता – यी सबैले उनलाई बिस्तारै डुबाउँदै थियो।

बिहीबार साँझ उनी घरबाट निस्किए। श्रीमतीले सोधिन्, “कहाँ जानुहुन्छ?” उनले सामान्य हाँसोसहित जवाफ दिए— “घुमेर आउँछु।” त्यसपछि उनी फर्केनन्।

शुक्रबार बिहान नहरको छेउमा उनको शव भेटियो, साथमा साइकल। प्रहरीले अनुसन्धान गर्दा गोजीमा सल्फर नामको विषादी फेला पर्यो। मुख र घाँटीमा गम्भीर घाउ, अनुहारमा पीडाको झल्को अझै बाँकी थियो।

उनको मृत्यु आत्महत्या हो वा अन्य कारणले भएको भन्नेमा अनुसन्धान जारी छ। तर गाउँलेहरूलाई थाहा छ— रामकिसुनको मृत्यु एक रोग, एक डर, एक निराशाको परिणाम हो।

कहिले काँही मानिसको पीडा चिच्याइरहेको हुन्छ, तर समाज सुन्न सक्दैन। रामकिसुन बोल्न थालेका थिए, तर सायद ढिलो भइसकेको थियो।

आज उनको सानो छोरी बुवाको बाटो हेरेर बसिरहेकी होलिन्। छोराले स्कुल फुरो भन्न खोजिरहेको होला। तर उनीहरूका लागि त्यो साइकल अब फेरि कहिल्यै नफर्किने भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय