latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

सिन्टिटारको त्यो बिहान अघिल्ला बिहानहरू जस्तै थियो — शान्त र सामान्य। तर बिहीबार, सूर्यको किरण झुल्किन नपाउँदै, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ को एउटा सानो डेराबाट करुणामय समाचार निस्कियो — दुई किशोरी दिदीबहिनी एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परे।

यो समाचारले नजिकका छिमेकी मात्र होइन, देशभरका अभिभावकहरूको हृदय चुँडायो।

एक महिना अघि मुम्बईको मिरा भयोण्डरस्थित घरमा उमा कँडेलले आफ्नी छोरीहरूलाई बिहानै उठाएर भात पकाइदिइन्।
“कम्प्युटर क्लास जान्छौं,” मेनुकाले भनिन्, अनि कान्छी सिर्जनाले मुस्कुराउँदै झोलालाई काँधमा सारिन्।
त्यसपछि उनीहरू कहिल्यै फर्किन आएनन्।

उमा काममा थिइन्। कल गरिन्, फोन उठेन। म्यासेन्जरमा आवाज पठाइन्, “रोटी बनाएर खानू। म काममा गएँ।”

“ममी हामी यहाँ छैनौं। हामी बैंगलोर गयौं। पैसा कमाएपछि तपाईंलाई भेट्छौं। त्योभन्दा अघि भेट्न सक्दैनौं।”

त्यसपछि न फोन आयो, न कुनै खबर।

मोबाइलको लोकेशन ट्र्याक गर्दा उनीहरू गोरखपुर हुँदै नेपाल प्रवेश गरिसकेका थिए। कहाँ गएका हुन्? को सँग छन्? कसैले केही थाहा पाएन।

ती दिदीबहिनीले नेपाल फर्केपछि भक्तपुरको सिन्टिटारमा डेरा लिए। एउटा सामान्य २ तले घरको भुइँतलामा। छिमेकीहरूका लागि अपरिचित अनुहारहरू थिए – चुपचाप, शान्त।
उनीहरू नजिकैको ‘कालिदेवी टेलर्स’ मा गार्मेन्टको काम सिक्न गएका थिए। ‘भिनाजु’ भनेर सम्बोधन गरिएको एउटा केटा सँगै आएका थिए।

“कोठा सानो छ, डेरा खोजी दिनुहोस्,” उनले भनेका थिए टेलर्स सञ्चालकलाई।
तर दुई साता बित्न नपाउँदै त्यो कोठा चिहान बन्यो।

बिहीबार बिहान ६:४५। घरधनीले प्यासेजतर्फ नजर दौडाए। अनि त्यो दृश्य देखे –
फलामको बारमा एउटै नाइलनको डोरी।
त्यसैमा झुण्डिएका थिए — मेनुका र सिर्जना।

प्रहरी आयो, मुचुल्का तयार भयो। अनुसन्धान थालियो। तर शव उठेन।
बुबा – बासुदेव कँडेल – मुम्बईबाट राति ११ बजे आउने सूचना थियो।
“बुबा नआइकन लास नउठाउनुहोस्,” भनियो।

राति अबेरसम्म त्यो घरमा भीड लागिरह्यो।
कसैले तिनका बारेमा केही बताउन सकेन।
उनीहरू कसरी आए? को ल्यायो? किन आए? कसरी यस्तो अन्त्य भयो?

प्रहरीले अनुसन्धान गरिरहेको छ। छिमेकीहरू अझै स्तब्ध छन्।
गाउँ, समाज, र तिनका आमाबुबा अझै अप्ठ्यारोमा छन्।

“ममी, हामी बैंगलोर गयौं” — त्यो अन्तिम भ्वाइस म्यासेज अझै आमाको फोनमा छ।
तर बैंगलोर होइन, दिदीबहिनीहरू सिन्टिटार आएका थिए – सुर्खेतबाट, मुम्बई हुँदै। र अन्त्यमा उनीहरू गएका छन्, त्यहाँबाट जहाँ न त कल आउँछ, न म्यासेज।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय