बिहिबार , साउन १६, २०८२

७८ लाख घुस डिलसम्बन्धी अडियो सक्कली भएको पुष्टि भएको छ। अडियोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, र पूर्वसचिव अर्जुन पोखरेलसहितका नाम जोडिएपछि यो प्रकरणले थप गम्भीर मोड लिएको छ।

सार्वजनिक अडियोमा बिचौलिया र मन्त्री राजकुमार गुप्ताबीचको संवाद छ, जहाँ पोखराको ‘लिची बगैंचा’ भनिने स्थानको १३५ रजौटा जमिन नामसारी गर्नका लागि ७८ लाख रुपैयाँ घुस बुझाइएको दाबी गरिएको छ।
बिचौलियाले उक्त रकम गृहमन्त्री र भूमिसम्बन्धी मन्त्रीसम्म पुग्ने गरी वितरण भएको भनिएको छ।


यससँगै अर्को अडियो क्लिपमा मन्त्री बलराम अधिकारीलाई ३२ लाख र पूर्वसचिव अर्जुन पोखरेललाई ५ लाख रुपैयाँ बुझाइएको उल्लेख छ। उक्त अडियोमा स्पष्ट रूपमा तिनै व्यक्तिहरूको नाम र कथित संवाद सुन्न सकिन्छ।

सार्वजनिक अडियोको वैज्ञानिक परीक्षण अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) को आग्रहमा सम्पन्न भएको हो। परीक्षणमा स्वर पहिचान, फ्रिक्वेन्सी मिलान, र डिजिटल छानबिनबाट अडियोमा कुनै प्रकारको सम्पादन नभएको र भाषण गर्ने व्यक्ति वास्तविक मन्त्री राजकुमार गुप्ता नै भएको पुष्टि भएको छ।

परीक्षण प्रतिवेदन अनुसार अडियो एकदमै सहज रूपमा रेकर्ड गरिएको, बिना कृत्रिम जोडघटाउ को रहेको पाइएको छ।

अडियो सार्वजनिक भएसँगै मन्त्री राजकुमार गुप्ता ले ३१ असारमा पदबाट राजीनामा दिएका थिए। तर अब अडियो सक्कली भएको पुष्टि भएपछि उनको संलग्नता औपचारिक रुपमा पुष्टि हुँदै गएको छ।अख्तियारले गुप्तासँग बयान लिने तयारी गरिरहेको छ भने बलराम अधिकारी र अर्जुन पोखरेलसमेत अनुसन्धानको दायरामा छन्।

अख्तियारले अडियोमा सुनिने बिचौलियाको पहिचान गरी बयानको तयारी गरिरहेको छ। स्रोतका अनुसार दुई व्यक्तिलाई आजै टुङ्गालमै बोलाइ बयान लिने तयारी भइरहेको छ।यदि घुस लेनदेन पुष्टि भयो भने, भ्रष्टाचार निवारण ऐन अनुसार गम्भीर कारबाहीको बाटो खुल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय