
थाईल्यान्ड — थाईल्यान्डको उत्तारादित प्रान्तको ‘रेड जोन’ मा पर्ने लाप लाए जिल्लाबाट एक हृदयविदारक घटना सार्वजनिक भएको छ। ८ वर्षीय एक बालक, जसलाई केवल ‘ए’ भनेर चिनाइएको छ, लामो समयसम्म आमाको उपेक्षा र दाजुको अवहेलनका कारण कुकुरसँग बस्न थालेका थिए र बिस्तारै उनीहरूकै जस्तो व्यवहार देखाउन थाले। बोल्नुको सट्टा ऊ बर्किन्थ्यो।
बाल अधिकार अभियन्ता पविना हङ्साकुललाई यो विषयमा जानकारी एक विद्यालयका प्रधानाध्यापकले दिएका थिए। उनीका अनुसार बालककी आमा केवल एकपटक उनलाई विद्यालय ल्याइन्—त्यो पनि लाभ लिने उद्देश्यले—तर नाम दर्ता कहिल्यै गराइनन्। बालक न त विद्यालय गएका थिए, न त बालबालिकाका लागि राखिने कक्षामा सहभागी भएका थिए।
हङ्साकुलले लाप लाए जिल्लाको स्थानीय प्रहरीसँग मिलेर अनुसन्धान अघि बढाइन। प्रहरीको परीक्षणबाट बालककी ४६ वर्षीया आमा र २३ वर्षीय दाजु दुबै लागुऔषध सेवनमा लिप्त रहेको पुष्टि भयो। उनीहरू आफ्नो बालकको पालनपोषणभन्दा लागुऔषध खोज्नमै बढी चिन्तित थिए।
छिमेकीहरूका अनुसार बालककी आमा नियमित रूपमा पैसा र खाना मागिरहन्थिन्। उनी लागुऔषध प्रयोगकर्ताको रूपमा चिनिएकाले गाउँलेहरू उनको परिवारबाट टाढै बस्ने गर्थे। परिणामस्वरूप बालकसँग कुनै पनि बच्चाहरू खेलेनन्। जब उनलाई आफ्नै घरबाट माया र हेरचाह मिलेन, उनले कुकुरहरूसँग आत्मीयता गाँसे—उनीहरूसँगै सुत्ने, हिँड्ने र अन्ततः उनीहरूकै शैलीमा बर्किन थाले।
Khaosod नामक थाई अखबारका अनुसार अहिले ‘ए’ लाई उत्तारादित चिल्ड्रेन होममा सारिएको छ, जहाँ मनोवैज्ञानिक र बाल विशेषज्ञहरूले उनलाई पुनः मानव व्यवहार सिकाउने, भाषा सिकाउने र शिक्षाको पहुँचमा ल्याउने प्रयास गर्दै छन्।
यो घटना थाई समाजमा बालबालिकाप्रतिको उपेक्षा र लागुऔषध समस्याको गम्भीरता झल्काउने उदाहरण बनेको छ।