
राजधानीको पिंगलास्थानस्थित तिलगंगा आँखा अस्पताल नजिक ‘गान्धिर मेडिकल’ नामक औषधी पसल सञ्चालन गर्दै आएका महोत्तरी घर भएका दुई दाजुभाइलाई हतियार कारोबारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
गौशाला प्रहरी वृत्तबाट खटिएको टोलीले महोत्तरीका २९ वर्षीय सुरेशकुमार राम र उनका २५ वर्षीय भाइ दिनेशकुमार रामलाई असार १६ गते पक्राउ गरेको हो। ती दुवैले सञ्चालान गरेको औषधी पसल औषधी व्यवस्था विभागमा दर्ता नभएको पाइएको छ।
हातहतियार किटक्याटको बट्टाभित्र!
प्रहरीले पसल पछाडिको डेरामा गरिएको खानतलासीमा एक थान चिनियाँ पेस्तोल र दुई थान म्यागजिन फेला पारेको जनाएको छ। ती हातहतियार ‘किटक्याट’ चकलेटको बट्टाभित्र लुकाइएको अवस्थामा फेला परेका थिए। थप अनुसन्धानका क्रममा अर्को पेस्तोल खाटमुनी लुकाएर राखिएको अवस्थामा बरामद गरिएको छ।
प्रहरी स्रोतका अनुसार ती हतियार बेच्ने उद्देश्यले लुकाइएको थियो। प्रारम्भिक अनुसन्धानमा भाइ दिनेश एक महिनाअघि भारत गएको र सोही बेला पेस्तोल ल्याएको आशंका गरिएको छ। यद्यपि, उनीहरूले गान्धिर यादवसँग मिलेर मेडिकल सञ्चालन गरेको र पेस्तोल पनि उनैले ल्याएको हुनसक्ने बताएका छन्। हाल गान्धिर जापानमा रहेका छन्।
अवैध मेडिकल सञ्चालन र रेडियो सेट बरामद
प्रहरीले पक्राउ परेका दुवैको कोठाबाट रेडियो सेटसमेत बरामद गरेको छ। औषधी पसल दर्ता नै नगरी सञ्चालन गरिएको मात्र होइन, फार्मेसीको आवरणमा हतियार कारोबार चलाइएकाले यो घटनाले सुरक्षा निकाय र औषधी नियमन प्रणालीप्रति प्रश्न खडा गरेको छ। अनुसन्धान अधिकृतहरूका अनुसार, उनीहरू यसअघि पनि हतियार कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।
अघिल्लो घटना: औषधी पसलमा अनियमितता दोहोरियो
यसअघि जेठ २९ मा गौशाला प्रहरीले चाबहिलस्थित ‘यु डाक्टर सर्भिस’ नामको औषधी पसलमा छापा मारी अवैध औषधीसहित दुई जनालाई पक्राउ गरेको थियो। तर औषधी व्यवस्था विभागले कारबाही नगरी उनीहरूलाई रिहा गरेको थियो।
गान्धिर मेडिकलको नाममा सञ्चालन भएको यो अवैध कारोबारले काठमाडौँ जस्तो शहरी क्षेत्रमा औषधी पसलको आडमा गम्भीर आपराधिक गतिविधि भइरहेको संकेत दिएको छ। अहिले पक्राउ परेका सुरेश र दिनेश राममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो प्रकरणले औषधी नियमन निकाय र सुरक्षा संयन्त्रलाई अझ सतर्क रहन आवश्यक छ भन्ने सन्देश दिएको छ।