प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमै पर्ने झापाको दमक नगरपालिका– ३ मा ठडिएको भ्युटावरको विवाद र चर्चा जति रह्यो, भ्युटावरका लागि दानमा दिइएको जग्गामा ठुलो चलखेल भएको खुल्दै गएको छ । नौ वर्षअघि प्रतिकट्ठा तीन लाख दररेट छँदा व्यावसायिक कम्पनी माँ पञ्चकन्या हाउसिजङले टावरका लागि दान दिएको जग्गा अहिले प्रतिकट्ठा ५० लाखभन्दा माथि कारोबार चल्दै गर्दा फिर्ता मागिरहेको छ । कम्पनीले जग्गा दान दिएको दुई वर्षपछि (सात वर्षअघि) जनप्रतिनिधिसँग गरेको सम्झौतालाई आधार बनाएर जग्गा वा जग्गाको मूल्य मागेको हो ।

०७२ अघि नै माँ पञ्चकन्याले उक्त क्षेत्रमा स्थानीयसँग सस्तोमा १२ बिघा जग्गा खरिद गरेको थियो । जग्गाको भाउ ह्वात्तै बढाउने योजनाअनुसार १८ तले दमक भ्युटावर निर्माणका लागि पञ्चकन्याले ०७३ मा चार बिघा १८ कट्ठा सात धुर सरकारलाई दान दियो । पञ्चकन्या हाउजिङका सञ्चालकहरू हुन् केवलीप्रसाद खरेल, टंकप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दीपक प्रसाईं ।


तर, अचम्म के भयो भने दान दिइसकेको जग्गामध्ये दुई विघा ‘सापटी दिएको’ भन्ने कागज दुई वर्षपछि गरियो । उक्त जग्गा नगरपालिकाले ६ महिनाभित्र पञ्चकन्यालाई फिर्ता गर्ने र फिर्ता गर्न नसके चलनचल्तीको दररेटअनुसार मूल्यांकन गरी पैसा बुझाउने भनी ३१ जेठ ०७५ मा जनप्रतिनिधीले नै पञ्चकन्या हाउजिङसँग कागजी प्रतिबद्धता जनाए । सम्झौतापत्रमा दमक नगरपालिकाका तत्कालीन मेयर रोमनाथ ओली, उपमेयर गीता अधिकारी र दमक– ३ का वडाध्यक्ष नविन बरालको हस्ताक्षर छ । बराल अहिले पनि वडाध्यक्ष छन् । दमक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाको रोहबरमा सम्झौता भएको थियो ।

सम्झौताअनुसार तत्कालीन समयमै स्थानीयसँग लिएर नगरपालिकाले १५ कट्ठा जग्गा फिर्ता गरेको थियो । तर, २५ कट्ठा फिर्ता गरेको थिएन । सात वर्षसम्म फिर्ता नहुँदा पनि पञ्चकन्या हाउजिङ चुपचाप बसिरह्यो । जब टावर निर्माण भयो, तब उक्त कम्पनीले ३१ जेठ ०७५ को सम्झौताअनुसार २५ कट्ठा जग्गा वा सोबराबरको मूल्य माग्दै नगरपालिका धाइरहेको छ । उक्त क्षेत्रमा अहिले प्रतिकट्ठा जग्गाको भाउ ५० लाख माथि पुगेको छ ।

हाउजिङका सञ्चालकमध्येका एक कृष्णराज खतिवडा दमक नगरपालिकाले दुई बिघा फिर्ता गर्ने लिखित सहमति गरेको र त्यसमध्ये २५ कट्ठा (एक बिघा ५ कट्ठा) फिर्ता नभएकाले माग गरिएको बताए । यद्यपि नगरपालिकाबाट ठोस जवाफ नआएको खतिवडाले् बताए ।

भ्यु टावरको योजना आउनुभन्दा पहिला नै आफूहरूले स्थानीयबाट फनपार्क बनाउन जग्गा खरिद गरेको उनको भनाइ छ । पछि दमक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत युवराज दाहाल (जो ताप्लेजुङको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाए)ले भ्यु टावर बनाउँदा आफूहरूले खरिद गरेको जग्गा पनि राम्रो हुने बताएपछि जग्गा दान दिइएको उनी बताउँछन् ।

‘हामीले पनि सरकारी प्रोजेक्ट राम्रो होला भनेर जग्गा दियौँ । जसमध्ये दुई बिघा जग्गा सापटी दिएका हौं, तर अहिले बर्बाद भयो । नगरपालिकाले फिर्ता गर्ने भनेर कागज गरेको जग्गा हामीलाई दिनुपर्छ,’ खतिवडाले भने, ‘जग्गा उपलब्ध नगराउने हो भने हामीलाई चलनचल्तीको मूल्य नगरपालिकाले दिनुपर्छ । ६ महिनाको म्याद राखेर कागज गरेको सात वर्ष भयो, हामीले पाएनौँ । त्यति पनि नगर्ने हो भने नगरपालिकाले लिखित जवाफ देओस्, हामी अदालत जान्छौँ ।’

दमक नगरपालिकाकाका हालका मेयर रामकुमार थापाले भने हाउजिङलाई जग्गा फिर्ता गर्ने भनिएको कागज नगरपालिकामा फेला नपरेको बताए । ‘माँ पञ्चकन्या हाउजिङ प्रालिका सञ्चालकले कागज देखाउनुभएको छ । तर, नगरपालिकामा एक वर्षदेखि खोज्दा पनि कुनै कागजात भेटिएको छैन,’ उनले भने, ‘कार्यपालिका र नगरसभाबाट पास भएको पनि पाइएन । उहाँहरूले कागजात देखाएपछि जान्दिनँ भन्न पनि पाइएन । यसको पूर्णस्वामित्व पनि लिन सकिएन ।’ यो विषय कार्यपालिकामा लैजाने उनले बताए ।

माँ पञ्चकन्या हाउजिङले स्थानीयबाट सस्तोमा जग्गा किनेर केही भ्यु टावरलाई दिएर बाँकी जग्गामा प्लटिङ गरेको छ । अहिले भ्यु टावरअगाडि माँ पञ्चकन्या हाउजिङको कार्यालय नै खोलेर जग्गा किनबेचको सूचना टाँसिएको छ । यो कम्पनीले त्यसवेला स्थानीयसँग प्रतिकट्ठा दुई लाखदेखिको दररेटमा जग्गा खरिद गरेको थियो । अहिले त्यस क्षेत्रमा प्रतिकट्ठा करिब ५० लाखमा किनबेच हुने गरेको दमक– ३ का रमेश पौडेल बताउँछन् । उनले पनि यही क्षेत्रमा ०७२ मा दुई बिघा १३ कट्ठा जग्गा यही कम्पनीलाई बिक्री गरेका थिए । जसबापत उनले प्रतिकट्ठा तीन लाख मात्र पाएका थिए । जहाँ उनले बेचेको जग्गा छ, अहिले त्यहीँ भ्यु टावर ठडिएको छ ।

‘यति ठुलो योजना ल्याउन रहेछ र पो हामीसँग जग्गा कारोबारीले ढाँटे । त्यसवेला कृषि फार्म खोल्ने भनेर जग्गा किनेका हुन् । हामीले पनि होला नि त भनेर बेच्यौँ । अहिले करोडौँको जग्गा बनाए,’ उनले भने, ‘अहिले यहाँ ५० लाख कट्ठासम्म बिक्री हुन्छ । त्यहीबेला हामीसँग ढाँटेर जग्गा किनेर प्लटिङ गरेका छन् । अब स्थानीयले भ्यु टावरलाई जग्गा उपलब्ध गराउन सक्दैनन् ।’ यो खबर चिरञ्जीवी घिमिरेले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय