सरकारी सम्पत्ति वडाध्यक्षको मिलेमतोमा बिक्री भएपछि स्थानीयहरू आक्रोशित भएका छन् ।

धादिङको खनियाँबास गाउँपालिका-१ स्थित लिस्ने खोलाको लघु जलविद्युत् आयोजनाका सामानहरू पूर्ववडाअध्यक्ष तथा निर्माण समितिका अध्यक्ष बुद्धी तामाङ र हाल वडा नम्बर १ का अध्यक्ष रहेका सोनाम बहादुर तामाङको मिलेमतोमा बिना प्रतिस्पर्धा बिक्री गरेर अनियमितताको भएको हो ।


सो लघुवित्त बन्द भएसँगै हाल सामानहरु बिक्रि गरिएको हो । पोल, तार, जस्ता तथा पावर हाउसका सामानहरू हालै बिक्री गरिएको छ । सार्वजनिक खरिद ऐनअनुसार कुनै प्रतिस्पर्धा नगरी बिक्रि गरिएको हो ।

आयोजनाका २ सय १० क्विन्टल सामान सात वटा गाडीमा ल्याएर धादिङबेशीमा बिक्री गरिएको हो । यसमा ठूलो रकम हिनामिनाको आशंका गरिएको छ ।

५० लाख रुपैयाँ भन्दा धेरै पर्ने सामान धादिङबेशीको पुछारबजारस्थित राकेश कवाडी पसलमा करिब १२ लाख रुपैयाँमा बिक्री गरिएको छ । सरकारकै लगानीमा सो लघु जलबिद्युत् बनेको हो ।

वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र, दमौली शाखाले २०६७ –६८ मा एक करोड ८० लाख अनुदान दिएर सो लघु हाइड्रो बनाएको हो । २०७२ को भुकम्पले भत्काएपछि आयोजना क्षतविक्षत भयो । पछि राष्ट्रिय प्रसारण लाइनको बिद्युत् पुगेपछि पुननिर्माण गरिएन ।

अलपत्र सामान सार्वजनिक खरिद नियमावलीअनुसार सूचना प्रकाशन गरेर बिक्रि गर्नुपर्नेमा कुनै प्रक्रिया पूरा नगरेपछि यस विषयमा छानविन भए वडाअध्यक्ष लगायत धेरै तानिने सम्भावना छ ।

काभ्रेमा यस्तै घटनामा हालै प्रहरीले दुई वडाअध्यक्षविरुद्ध चोरी मुद्दा चलाएको थियो । बाढीले क्षतविक्षत बनाएको रोशी खुलाको पुलका फलाम बिक्रीमा प्रक्रिया पुरा नगरेको भन्दै रोशी गाउँपालिका ७ का अध्यक्ष अशोक गौतम र कवाड सञ्चालक कारागार नै चलान भएका छन् ।

अर्का वडाअध्यक्ष फरार छन् । धादिङमा पनि यस्तै छानविन भए मुद्दा चल्ने अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय