
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा पक्राउ परेका व्यक्ति कवि गुञ्जन राई भएको खुलेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई केहीबेरअघि पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले ललितपुरका गुञ्जनलाई गायिका एलिना चौहानको जाहेरीको आधारमा पक्राउ गरेको बताए ।
गुञ्जन केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए ।
एलिनाले आफूमाथि गालीगलौज गर्नेको ‘भण्डाफोर’ अभियानअन्तर्गत गुञ्जनको पनि प्रोफाइल सार्वजनिक गरेकी थिइन् ।
चौहानले सोमबार साइबर ब्युरोमा चार जनाविरुद्ध उजुरी दर्ता गराएकी थिइन् । पक्राउ परेका राई सोही उजुरीमा समावेश व्यक्तिहरूमध्ये एक हुन् । उनीमाथि सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी र चरित्रहत्या गर्ने सामग्री फैलाएको आरोप छ ।
सामाजिक सञ्जालमा बढ्दै गएका नकारात्मक कमेन्टहरूप्रति चौहानले कडा प्रतिक्रिया जनाउँदै आएकी छन् । यसै क्रममा उनले आफ्नो फेसबुकमार्फत केही व्यक्तिहरूको नाम, तस्बिरसहित सार्वजनिक गर्दै उजुरीसमेत दर्ता गरेकी हुन् ।
चौहानले मंगलबार गृहमन्त्री रमेश लेखकसँग समेत भेट गरेकी थिइन् । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमा महिला कलाकारप्रति हुने दुर्व्यवहारविरुद्ध चौहानले उठाएको आवाजको समर्थन गरेका छन् ।