
नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाईसीएलका अध्यक्षकै योजनामा विराटनगरमा अपहरण र डकैतीको घटना भएको खुलाशा भएको छ ।
वाईसीएलका विराटनगर महानगर अध्यक्ष कुशल पाण्डे अपहरण र डकैतीको घटनामा मुछिएका हुन् । विराटनगर महानगरपालिका–११ घर भएका २६ वर्षीय पाण्डेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
उनीविरुद्ध शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । अपहरण र डकैतीमा संलग्न २ जना गत आइतबार पक्राउ परेका थिए । आफूलाई प्रहरी बताउने समूहले असार ११ गते बिहान अपहरणपछि डकैती गरेको थियो । डकैतीमा संलग्न विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी यसअघि पक्राउ परेका हुन् ।
उनीहरुमाथि शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनापछि भागिरहेका वाईसीएल अध्यक्ष पाण्डेलाई प्रहरीले बल्ल पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको छ ।
प्रहरीका अनुसार आफूलाई प्रहरी बताउने ३ जनाको समूहले असार ११ गते बिहान ११ः१५ बजेतिर विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेर उनको साथमा भएको रकम लुटपाट गरेको थियो। त्यो समूहले विक्रमलाई सुरुमा विराटनगर–१३ को महतो टोलबाट अपहरण गर्यो ।
मोटरसाइकल र स्कुटरमा रहेका ३ जनाले महतो टोलबाट अपहरण गरी विराटनगर आँखा अस्पताल छेउ हुँदै विराटनगर–१४ जतुवा पुर्याएर रकम लुटपाट गरी उनलाई छाडिदिएको थियो । भिनाजु विराटनगर–१५ का धर्मानन्द साहले दिएको ३ लाख ६४ हजार रूपैयाँ लिएर बैंकमा जम्मा गर्न जाँदै विक्रम अपहरणमा परेका थिए ।
अपहरण गरेर साथमा भएको रकम डकैती गरेपछि त्यो समूहले उनलाई छाडेको थियो । ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेर अपहरणकारीले को १४ प ३३३० नम्बरको स्कुटरमा राखेर उनलाई लगेका थिए । त्यसपछि एकान्तस्थलमा पुर्याएर लुटपाट गरिएको थियो ।
हल्ला गरेमा मारिदिने धम्की दिँदै लुटेरा समूहले साथमा भएको रकम लुटपाट गरेको भन्दै विक्रमले प्रहरीमा जाहेरी दिए । ‘यो घटनाको मुख्य योजनाकार कुशल पाण्डे हुन् । पाण्डेले योजना बनाएपछि अरु २ जनाले सहयोग गरेको देखिन्छ । घटनापछि उनी भागिरहेका थिए । बल्ल पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ । थप विषय अनुसन्धानपछि खुल्दै जान्छ,’ प्रहरी स्रोतले भन्यो ।