प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गरेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधवार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दामा न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


खोटाङ घर भई हाल भक्तपुर बस्दै आएकी बस्नेतलाई गत असार १ मा पक्राउ गरेर गृह मन्त्रालयको पत्र अनुसार प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले बुधबार मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलले दायर गरेको अभियोग पत्रमा बस्नेतले टिकटक भिडियो मार्फत प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको टिप्पणी गरेकी थिईन ।

भिडियो बनाइ घृणा, द्वैष फैलाइ चरित्रहत्या गरेकाले १ लाख जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै हुनुपर्ने माग दाबी सहित जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा दायर गरेको थियो ।

अभियोग पत्रमा उल्लेख गरेअनुसार बस्नेतले ती दुई भिडियोमा यसरी बोलेकी छन्–

पहिलो भिडियो – नेपालका होनहार गृहमन्त्री रमेश लेखकको लागि । यो मान्छे पहिला गृहमन्त्री हुँदाखेरी नियुक्ति हुने बित्तिकै, मैले यो मान्छेको भिडियो बनाएको थिएँ । यो मान्छे गृहमन्त्री हुनु नै जनताको दुर्भाग्य हो भनेर मैले बनाएको थिएँ । यो मान्छे कुनै पनि भिजन छैन । यो दुई तिहाईले बनेको सरकारले, स्वार्थले बनेको सरकारले मान्छे छानेर नियुक्ति गराइयो । किनभने उनीहरूसँग मिल्ने मान्छे मात्रै, पार्टीमा मिल्ने, घुस खाने मान्छे मात्रै उनीहरूसँग मिल्छ र उनीहरूसँग सबै कुरामा फिट हुन्छ भन्ने कुरा थाहा थियो ।

यदि मैले बोलेको कुराहरू तपाईँलाई पत्यार लाग्दैन भने मैले विगतमा बनाएको भिडियो चाहिँ गृहमन्त्रीमा नियुक्ति हुने बित्तिकै बनाएको भिडियो हेर्नुस् । यो कुरो छर्लङ्गै तपाईँहरूले पाउनुहुन्छ, यो मान्छेले कुनै पनि सिद्धान्त बोकेर आएको छैन । यसले कुनै पनि विकास गर्दैन, यसको कुनै भिजन छैन, यसले आफ्नो अवधि हुन्जेलसम्म पोल्टो भर्छ, भ्रष्टाचार, एक नम्बरको भ्रष्टाचार गरेर यो मान्छे आफैँ साइड लाग्छ । यसको पोल्टो भरेपछि र यसको किलकिलेसम्म आउन्जेल एल्ले खाएपछि यो आफैँ साइड लाग्छ, यो जनताको लागि गृहमन्त्री भएकै होइन ।

यो पार्टीको लागि गृहमन्त्री भएको व्यक्ति हो भनी मैले पहिले भनेको थिएँ, ठोकुवा दिएर भनेको थिएँ, बुझ्नु भयो नि, त्यही निस्क्यो होइन त । एयरपोर्ट एक दिनमा दैनिकी पचास लाख गृह मन्त्रालयमा बुझाउँछ रे, यो कुरा अनि सरकारले यो कुरा के गरेर बसेको छ, कानमा के रुवा हालेर बसेको छ ? अब केपी चोरको लागि त यही गृहमन्त्री ठिक छ किन भने चोरलाई चोर नै मन पर्छ । राम्रो मान्छे त मन पर्दै पर्दैन ।’

दोस्रो भिडियो– अब कल्लाई फसाउन सकिन्छ भनेर कुरा मिलाउँदै हो, बाख्रा कि के हो ? प्रमाण हराएको मान्छे, भ्रष्टाचारी, देशद्रोही ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय