
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकास, सहरी सौन्दर्यीकरण, सामाजिक सुरक्षा र यातायात सुधारलाई प्राथमिक प्राथमिकतामा राखिएको छ ।
मंगलबार सम्पन्न १७ औँ नगरसभामा नगर उपप्रमुख निलकण्ठ खनालले ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । चालु वर्षको तुलनामा बजेट ७९ करोड बढी रहेको छ । कूल बजेटमध्ये पूँजीगत खर्च ६३.६३ प्रतिशत (२ अर्ब ७८ करोड ८४ लाख ८५ हजार) र चालू खर्च ३६.३७ प्रतिशत (१ अर्ब ५९ करोड ४२ लाख ३० हजार) रहेको छ ।
नगरपालिकाको आर्थिक योजना संघीय सरकारबाट प्राप्त हुने अनुदानमा बढी निर्भर रहेको देखिन्छ । वित्तीय समानीकरण, सशर्त अनुदान र राजस्व बाँडफाँडमार्फत संघीय सरकारबाट २ अर्ब ६४ करोड ८९ लाख ९३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट ४० करोड ९५ लाख ८९ हजार र आन्तरिक आम्दानीबाट ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य छ । चालू आर्थिक वर्षबाट बाँकी रहेको बैंक मौज्दात ४१ करोड २७ लाख ८३ हजार पनि आगामी बजेटमा उपयोग गरिनेछ ।
भेरी पम्पिङ आयोजना प्राथमिकतामा वीरेन्द्रनगर उपत्यकाको दीर्घकालीन खानेपानी समाधानका लागि भेरी लिफ्टिङ (पम्पिङ) आयोजना केन्द्रमा छ । संघीय र प्रदेश सरकारको सहकार्यमा अघि बढाइएको यो आयोजना निर्माणका लागि ११ करोड ६० लाख रुपैयाँ म्याचिङ फन्ड छुट्याइएको छ ।
सहरी सौन्दर्यका लागि छुट्टै योजना राजधानीको स्वरूप झल्किने पूर्वाधार निर्माणमा १२ करोड विनियोजन गरिएको छ ।
यसअन्तर्गत ट्राफिक लाइट, रोड मार्किङ, फुटपाथ व्यवस्थापन, सीसी क्यामरा र हाईमास्ट लाइट जडान गरिनेछ । त्यसैगरी, घण्टाघर पार्क लगायतका सार्वजनिक पार्क निर्माण र क्रमागत योजनाका लागि २२ करोड ३४ लाख रुपैयाँ छुट्याइएको छ ।
नगरका सबै १६ वडामा कम्तीमा ५० लाखभन्दा माथिको पूर्वाधार आयोजना सञ्चालन गर्ने लक्ष्यसहित १९ करोड २८ लाख रुपैयाँ वडास्तरमा पठाइने भएको छ ।
नगरवासीका लागि सुविधाजनक र सर्वसुलभ सार्वजनिक यातायात व्यवस्था गर्ने उद्देश्यले नगर बस खरिद तथा सञ्चालनका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
कर सङ्कलनमा सुधार र सहकार्य ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्यसहित टोल विकास संस्था र निजी क्षेत्रसँग सहकार्य गर्दै कर प्रणालीलाई प्रभावकारी बनाइने भएको छ ।
सामाजिक सुरक्षालाई निरन्तरता सामाजिक सुरक्षा भत्ताका लागि छुट्टै ४० करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै, विकास साझेदारहरूसँग सहकार्यमा ४० करोड बराबरका परियोजना कार्यान्वयन गरिने प्रस्ताव पनि बजेटमा समावेश गरिएको छ ।
वीरेन्द्रनगरलाई ‘शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर’ बनाउने र ‘स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’ को संकल्पलाई व्यवहारमा उतार्ने प्रतिबद्धतासहित प्रस्तुत बजेटले बहुआयामिक विकास योजना बोकेको छ ।