latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा अहिराजविरुद्ध बलात्कारको गम्भीर आरोप लागेको छ ।

काठमाडौँको बानेश्वरस्थित आफ्नै कोठामा एक युवतीमाथि बलात्कार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले चैत २५ गते पुर्जी जारी गरेको थियो । तर, दुई महिना बितिसक्दा पनि अहिराज प्रहरीको हात लागेका छैनन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले अहिराजको खोजी तीव्र पारिएको बताए । “हामीले निरन्तर खोजी गरिरहेका छौँ, तर उनी अझै फेला परेका छैनन्,” उनले भने । स्रोतका अनुसार, पक्राउ पुर्जी जारी भएको थाहा पाए लगत्तै अहिराज भारततर्फ भागेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार, घटना २०८१ जेठ ४ गते भएको हो । अहिराजले आफ्नो कोठामा कोही नभएको अवस्थामा पीडित युवतीमाथि पटक-पटक बलात्कार गरेको आरोप छ । पीडितले दिएको जाहेरीमा अहिराजले घटनापछि कसैलाई बताए मार्ने धम्की दिएको उल्लेख छ ।

पीडितले घटना लगत्तै न्याय खोज्न जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेकी थिइन्, तर प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेको उनको गुनासो छ । पटक-पटक प्रयास गर्दा पनि प्रहरीले जाहेरी नलिएको भन्दै पीडित कात्तिक २८ गते जिल्ला सरकारी वकिलको कार्यालय पुगिन् । उनको निवेदनपछि सरकारी वकिलको कार्यालयले कात्तिक ३० गते प्रहरी परिसरलाई पत्राचार गरी जाहेरी दर्ता गर्न निर्देशन दिएको थियो ।

तर, सरकारी वकिलको पत्राचारपछि पनि प्रहरीले ढिलाइ गर्‍यो । अन्ततः माघ ३ गते मात्र जाहेरी दर्ता भयो र प्रक्रिया अघि बढ्यो । अदालतले चैत २५ गते पक्राउ पुर्जी जारी गरेपछि अहिराज फरार भएको स्रोतको दाबी छ ।

को हुन् अहिराज?

राजेश झा अहिराज मधेस प्रदेशका पूर्वप्रमुख हुन् । उनले २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म यो जिम्मेवारी सम्हालेका थिए । हाल उनको फरार अवस्थाले घटनालाई थप जटिल बनाएको छ ।

घटनामा प्रहरीको ढिलासुस्ती र जाहेरी दर्तामा देखिएको उदासीनताले पीडितको न्याय प्राप्तिमा बाधा पुगेको देखिन्छ । प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न इन्कार गरेको र सरकारी वकिलको निर्देशनपछि पनि महिनौँ ढिलाइ गरेको विषयले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले अहिराजलाई पक्राउ गर्न खोजी जारी राखेको जनाए पनि उनको अवस्थाबारे ठोस जानकारी प्राप्त भएको छैन । घटनाले सामाजिक र राजनीतिक क्षेत्रमा समेत तरङ्ग ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय