latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

मकवानपुरको हेटौंडा–५ की २७ वर्षीया रेनुका कँडेल आइतबार सुत्केरी हुने तयारीमा थिइन्। पेटमा हुर्किएको सन्तानको आगमनका लागि घरमा ९ र ४ वर्षका छोरीहरू छोडेर उनी शनिवार विहान अस्पतालतिर लागिन।

तर, रेनुकाको जीवनले अर्को मोड लियो। हेटौंडाबाट भरतपुर अस्पताल जाँदै गर्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ मा भएको भीषण दुर्घटनाले उनको र उनीसँगै श्रीमान् र सासु आमाको जीवन बाटैमा समाप्त गरिदियो।

धनगढीबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस र हेटौंडाबाट नारायणगढतर्फ गइरहेको प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी भ्यान आपसमा ठोक्किँदा सात जनाको ज्यान गएको थियो। मृतकमध्ये तीन जना एउटै परिवारका थिए — रेनुका, उनका श्रीमान् ३५ वर्षीय सरोज पहाडी र सासु ५३ वर्षीया मैयाँकुमारी न्यौपाने पहाडी।

रेनुका सुत्केरी बेथा लागेपछि हतार–हतारमा अस्पतालतर्फ लागेकी थिइन्। उनीसँग श्रीमान् र सासु आमाले सँगै अस्पतालको बाटो समाते। तर, नियतिले बाटोमै उनीहरूको यात्रा समाप्त गरिदियो। गर्भमा हुर्किरहेको शिशुसहित गन्दा चार जनाको एकैचोटि मृत्यु भएको यो घटना अहिले गाउँमा मात्र होइन, देशभर शोकको विषय बनेको छ।

उनीहरूका दुई नाबालिका छोरीहरू — आमा भाई वा वहिनी लिएर फर्कन्छिन् भन्ने आशामा थिए। आज उनीहरुले आमा, बुबा र हजुरआमासहित जन्मिनै नपाएको भाइ÷बहिनी सबै गुमाइसकेका छन्। अव, त्यो घरमा आइतबार नवजात शिशुको रुनुपर्ने आवाज सुनिदैन। त्यहाँ अब केवल शोक, पीडा र मौनता छ।

दुर्घटनामा इभी भ्यानमा सवार हेटौंडाका ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटकी ३१ वर्षीया सिता कुमारी र चालक ३५ वर्षीय राजु थिङको पनि मृत्यु भएको चितवन प्रहरीका डिएसपी रविन्द्र खनालले जानकारी दिए।

दुर्घटनामा परेका सातमध्ये छ जनाको सनाखत भइसकेको छ भने एक मृतक महिलाको सनाखत हुन बाँकी छ। मृतकका शव भरतपुर अस्पतालमा राखिएको छ। यस दर्दनाक दुर्घटनाले एउटा परिवार मात्र उजाड बनाएको छैन, दुई नाबालिका छोरीहरूको भविष्यलाई समेत अनाथ र अन्योलमा पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय