सामाजिक सञ्जालमार्फत चिनजान भएका एक व्यक्तिलाई भेट्न गएकी सुस्त मनस्थितिकी एक १५ वर्षीया नाबालिकामाथि पटकपटक बलात्कार भएको पाइएको छ । फेसबुक मेसेन्जर मार्फत भेट्न बोलाई नाबालिका बलात्कार गरेको आरोपमा झापा जिल्लाको अर्जुनधारा-१० बुद्धचौकका ३५ वर्षीय हस्तबहादुर भट्टराईविरुद्ध जबरजस्ती करणीको मुद्‍दा दायर भएको हो ।

सरकारी वकिल कार्यालय, झापाले झापा जिल्ला अदालतको बाल इजलासमा भट्टराई विरुद्ध अभियोग पत्र दायर गरेको छ । जसमा मुलुकी मुलुकी अपराध संहिता, फौजदारी कार्यविधि नियमावली र बालबालिका सम्बन्धी ऐन बमोजिम कारबाही तथा क्षतिपूर्तिको माग राखिएको छ ।

पीडित नाबालिका (परिवर्तित नाम अनारमनी) को मानसिक अवस्था सामान्य छैन । उनी एक पटकमा कुनै पनि कुरा बुझ्दिनन् र पटक-पटक दोहोर्‍याउँदा बुझे पनि एकछिनपछि बिर्सिहाल्छिन् । उनी बोल्दा पनि भकभकाएर बोल्ने गर्छिन् । करिब दुई महिना अगाडि हस्तबहादुर भट्टराईसँग फेसबुक मेसेन्जरमार्फत उनको चिनजान भएको थियो । उनले ‘नेपाली कुमार’ नामक फेसबुक आईडी प्रयोग गर्थे । सोही आईडीबाट उनले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए, अनारमनीले एसेप्ट गरिन् र दुवै जनाबिच चिनजान सुरु भयो । त्यसपछि भिडिओ कल मार्फत कुराकानी हुँदै आएको पीडित र उनका परिवारको बयानमा उल्लेख छ ।

१२ वैशाख २०८२ का दिन बिहान भट्टराईले अनारमनीलाई भिडिओ कल गरे र भाटभटेनी मल घुम्न जाने प्रलोभनमा देखाए । उनले मोबाइल किनिदिने वा बिग्रेको मोबाइल बनाइदिने भन्दै लोभ देखाएको प्रतिवादी भट्टराई स्वयंले बयानमा उल्लेख गरेका छन् । त्यसपछि भट्टराईले आफूलाई मोटरसाइकलमा चढाएर झापा, बिर्तामोड-३ सैनिक मोडमा रहेको एमएस होटल एण्ड लजको एक कोठामा लगेर जबरजस्ती करणी गरेको पीडितको भनाइ छ ।

अनारमनीका दाइले दिएको जाहेरी दरखास्त अनुसार पहिलो दिन ५०० रुपैयाँ दिएर घर पठाएपछि, भोलिपल्ट वैशाख १३ गते पनि सोही होटेलमा लगेर भट्टराईले करणी गरेका थिए । त्यस क्रममा मोबाइलबाट नग्न फोटो र भिडिओ समेत खिचेका थिए । कसैलाई पनि यसबारे नबताउन भन्दै त्यस दिन ६०० रुपैयाँ दिएर पठाएको पीडित अनारमनीले बताएकी छिन् ।

वैशाख १६ गते बिहान पनि भट्टराईले त्यसैगरी भेट्न बोलाए । अनारमनीले भेट्न अस्वीकार गर्दा उनले ‘तँ आइसन, मैले भनेको मानिस भने तेरो नाङ्गो भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरी, तेरो घर परिवारको मानिसहरूलाई पठाई तेरो बदनाम गरी दिन्छु’ भनी धम्क्याएपछि डरले पुनः सोही होटेलमा जान बाध्य भएको जाहेरी दरखास्त र पीडितको कागजमा उल्लेख छ । यसरी प्रतिवादीले पटकपटक करणी गरेको पीडित पक्षको दाबी छ ।

तर प्रतिवादी हस्तबहादुरले भने आफ्नो बयानमा अनारमनीसँग फेसबुक मार्फत चिनजान भएको र होटेलमा दुवैको सहमतिमा शारीरिक सम्बन्ध भएको दाबी गरेका छन् । उनले जबरजस्ती करणी गरेको आरोप अस्वीकार गरेका छन् ।

प्रहरी अनुसन्धान, घटनास्थल मुचुल्का, जाहेरी दरखास्त, पीडितको शारीरिक परीक्षण प्रतिवेदन, प्रतिवादीको बयान र घटना विवरण कागज लगायतका आधारमा भट्टराईले १५ वर्षीया नाबालिकालाई ललाई फकाई पटकपटक करणी गरेको प्रमाणित भएको अभियोग पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय