बुधबार , असार ४, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टीका दुई शीर्ष नेता र पार्टीबाटै सरकारमा रहेका तीन मन्त्री लिएर प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका छन्।

बुधबार साँझ पार्टी देउवा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा राणा र ऊर्जामन्त्री दीपक खड्कालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न पुगेका हुन्।

छलफलमा एमालेका तर्फबाट ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए।

छलफलमा सरकारको कामकारबाही र सदनको कामकारबाहीबारे कुरा भएको कांग्रेस उपसभापति खड्काले जानकारी दिए।

‘सदनको कामकारबाही, सरकारको कामकारबाही र समसामयिक विषयमा कुराकानी भयो,’ खड्काले भने।

त्यस्तै छलफलमा सहभागी गृहमन्त्रीले रमेश लेखक पनि सदनको कामकारबाहीकै विषयमा आजको छलफल केन्द्रित भएको बताए। उनले भने, ‘सदन र सरकारको कामकारबाही अघि बढाउनेमै छलफल केन्द्रित भयो। विधेयकहरू पनि अघि बढाउने कुरामा छलफल भयो।’

त्यस्तै छलफलमा सहभागी अर्का एक नेताका अनुसार निजामती विधेयकको विषयमा पनि कुरा भएको थियो।

‘निजामती विधेयकमा कुलिङ पिरियडमा नेताहरूबीच केही कुरा मिलेको छैन। दुई वर्ष राख्ने कि कति राख्ने भन्नेबारे अझै निर्णय त भएको छैन तर उता समितिले सर्वसम्मत गरेर पठाइसकेको कुरा पनि छ,’ ती नेताले भने।

त्यस्तै, छलफलमा सहभागी मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले इरान र इजरायलको द्वन्द्वका कारण समस्यामा परेका नेपालीको उद्धार र सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्री राणाको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय