डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको कारागारमा रहस्यमय मृत्यु भएपछि स्याउले बजारमा तनाब भएको च्झ । सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात समेत ठप्प पारिएको छ।

बैंकिङ्ग कसुरमा पक्राउ परेका पालीको मृत्यु प्रहरीको कुटपिटका कारण भएको भन्दै उनका आफन्त र व्यवसायीहरूले सुदूरपहाडको यातायात पूर्णरूपमा बन्द गराएका हुन्।

अन्दोलनरत व्यावसायीहरूले बुधबार बिहानदेखि अमरगढी नगरपालिका–५ बागबजार क्षेत्र र अमरगढी–१ स्याउले बजारमा टायर बालेर विरोध प्रर्दशन गरिरहेका छन्। स्याउले बजारमा टायर बालेर प्रर्दशन गरेपछि डडेल्धुरासँगै डोटी, अछाम, बाजुरा, बैतडी, दार्चुला, बझाङ जाने गाडीहरू रोकिएका छन्।

पहाडबाट तराई जाने र कैलाली–कञ्चपुरबाट पहाड आउने सवारीसाधनहरू पूर्णरूपमा बीच बाटोमै ठप्प छन्। गन्तव्यमा हिँडेका यात्रुहरू मारमा परेका छन्।

घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै बजार र राजमार्ग बन्द गरिएको डडेल्धुरा उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष दीपकबहादुर महताले जानकारी दिए।

प्रहरीका अनुसार पालीलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो।

पक्राउपछिको दुई दिनमै उनको कैलाली कारागारमा मृत्यु भएको हो। पालीको मृत्यु भएपछि उनको परिवारले गम्भीर आरोप लगाएको छ। मृतकका काका पदमसिंह पालीले कारागारभित्रै पालीलाई यातना दिइएको दाबी गरे।

उनका अनुसार प्रहरी नायब निरीक्ष हरिजित नाथले पहिले नै बारम्बार रकम माग्दै आएका थिए। उनले पालीलाई महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखेर ‘बार्गेनिङ’ गरेर छोडेको उल्लेख गर्दै पछिल्लोपटक डडेल्धुराबाट निजी गाडी प्रयोग गरी कैलाली ल्याएर नियोजित यातना दिइएको आरोप लगाएका छन्।

‘असार २ गते मात्र हामीले हरिजित नाथकै खातामा ८५ हजार रुपैयाँ ट्रान्सफर गरेका थियौँ,’ पदम सिंहले भने, ‘तर त्यसपछि प्रहरीको वर्दीको आडमा उनीमाथि यति धेरै दमन गरियो कि शरीरभर नीलडाम थिए, टाउकाबाट रगत बगेको थियो।’

उनको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। उनको शवमा कुटपिट गरेको नीलडाम रहेको भिडिओ पनि सार्वजनिक भइसकेको छ। आफन्तहरूले जबसम्म सत्य खुल्दैन र दोषीलाई कारबाही हुँदैन तबसम्म शव नउठाउने अडान लिएका छन्।

प्रहरीले भने पाली बिरामी भएपछि अस्पताल लगिएको दाबी गरेको छ। तर, सिसिटिभी फुटेज माग्दा अहिलेसम्म उपलब्ध नगराएको आफन्तहरूको भनाइ छ। यसबाट प्रहरीकै संलग्नतामा हत्या भएको शंका थप बलियो भएको उनीहरूको दाबी छ।

उता जिप्रका कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार एक्कासि बिरामी भएका पालीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुगाइएको थियो। अस्पताल पुगाएको आधा घण्टामै मृत्यु भएको डीएसपी सिंहले बताए। मृतकका श्रीमती र एक छोरा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय