
किङ्ग कसुरमा पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीको प्रहरीको नियन्त्रणमा रहँदा मृत्यु भएको छ। पालीको मृत्यु प्रकरणमा उनको परिवारले गम्भीर आरोप लगाएको छ।
प्रहरीका अनुसार, उनलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। पक्राउपछिको दुई दिनमै उनको कैलाली कारागारमा मृत्यु भएको हो।
मृतकका काका पदम सिंह पालीका अनुसार, प्रहरी नायब निरीक्ष हरिजित नाथले पहिले नै बारम्बार रकम माग्दै आएका थिए। उनले पालीलाई महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखी ‘बार्गेनिङ’ गरेर छोडेको उल्लेख गर्दै पछिल्लोपटक डडेल्धुराबाट निजी गाडी प्रयोग गरी कैलाली ल्याएर नियोजित यातना दिइएको आरोप लगाएका छन्।
“असार २ गते मात्र हामीले हरिजित नाथकै खातामा ८५ हजार रुपैयाँ ट्रान्सफर गरेका थियौँ,” पदम सिंहले भने, “तर त्यसपछि प्रहरीको वर्दीको आडमा उनीमाथि यति धेरै दमन गरियो कि शरीरभर निलडाम थिए, टाउकाबाट रगत बगेको थियो।”
उनको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। उनको शवमा कुटपिट गरेको निलडाम रहेको भिडियो बाहिरिएको छ। आफन्तहरूले जबसम्म सत्य खुल्दैन र दोषीलाई कारबाही हुँदैन तबसम्म शव नउठाउने बताएका छन्।
प्रहरीले भने पाली बिरामी भएपछि अस्पताल लगिएको दाबी गरेको छ। तर, सिसिटिभी फुटेज माग्दा अहिलेसम्म उपलब्ध नगराएको आफन्तहरूको भनाइ छ। यसबाट प्रहरीकै संलग्नतामा हत्या भएको शंका थप बलियो भएको उनीहरूको दाबी छ।
हाल पालीका परिवारजन कानुनी प्रक्रियामा जाने तयारीमा छन्। मृतकका श्रीमती र एक छोरा रहेका छन्।