
तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष एबम नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत रहेका राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध जिल्ला अदालत तनहुँले पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत तनहुँले जेठ १३ गते पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन।
ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भए पनि अध्यक्ष श्रेष्ठ खुलेयाम सार्वजनिक कार्यक्रमहरुमा भाषण गर्दै हिँडिरहेका छन्। इलाका प्रहरी कार्यालय बेलचौताराको चलानी नम्बर ५८१० को पत्रअनुसार पक्राउ पुर्जी माग भएकोमा जिल्ला अदालत तनहुँका न्यायाधीश राजेशकुमार कटुवालले आदेश दिएको स्रोतले बतायो।
ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएपछि अनिवार्य पक्राउ गर्नुपर्ने भए पनि प्रहरीले आलटाल गरिरहेको छ। प्रहरीले अनुसन्धान सकाएर मिसिल जिल्ला सरकारी वकिलको कार्यालय पठाएको छ। सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गराउन पनि ढिलासुस्ती गरिरहेको हो।
ऋषिङ गाउँपालिका अध्यक्ष श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरको जाहेरी वैशाख २५ गते दर्ता भएको थियो। राजनीतिक पहुँचको आधारमा प्रहरीले जाहेरी लिन नमानेपछि भीमाद नगरपालिका–६ बस्ने ५७ वर्षीय प्रभात आलेले हुलाकमार्फत पठाएकोमा बल्लतल्ल दर्ता भएको हो।
गएको फागुन १३ गते प्रभात आफैं इलाका प्रहरी कार्यालय बेलचौतारा पुगेर जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले राजनीतिक दबाबका कारण दर्ता गरेको थिएन। आलेले पछि वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला सरकारी वकिलको कार्यालयलाई हुलाकमार्फत जाहेरी पठाएका थिए।
वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा जोहरी पुगेको थियो। त्यसको ३ दिनपछि मात्रै दर्ता भयो। ऋषिङका अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेका भाइ प्रभातलाई कुटपिट गरेको घटना फागुन ७ गते रातिको हो। प्रहरीले जाहेरी लिन नमानेपछि लामो समयपछि घटना बाहिरियो। लामो समयपछि घटना बाहिरिनुलाई राजनीतिक लाभ हानीको रुपमा नेपाली कांग्रेस वृत्तमै चर्चा छ।
पक्राउ पुर्जी जारी भएको लामो समयसम्म पनि पक्राउ नगर्नुले ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने नेपाली उखानलाई न्याय दिएको छ। सत्ता र शक्तिको आडमा प्रहरी प्रशासन चलेको यो घटनाको नालीबेलीले देखाउँछ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे। जेठ २५ गते नै प्रहरीले अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको उनको भनाइ थियो। उनले यो विषयमा थप इलाका प्रहरी कार्यालय बेलचौतारामा बुझ्न आग्रह गरे।
इलाका प्रहरी कार्यालय बेलचौतारका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष श्रेष्ठ आफैं कार्यालयमा उपस्थित भएको खुलाए। अनुसन्धान पक्रियाबारे उनी भन्छन्, ‘सरकारी वकिलको कार्यालयमा मिसिल पठाएका छौं।’
जिल्ला अदालत तनहुँकी सूचना अधिकारी लक्ष्मी रिमाल पराजुलीका अनुसार सरकारी वकिलको कार्यालयले हालसम्म अभियोग दर्ता गराएको छैन। ‘प्रहरीले पक्राउ गरेर ल्याएपछि बल्ल अदातलमा मुद्वा दर्ता हुन्छ’, उनले भनिन्।
हामीले केही अधिवक्तालाई अदालतबाट पक्राउ पुर्जी जारी भएपछि के हुन्छ भनेर प्रश्न गर्यौँ। उनीहरुको एउटै जवाफ थियो, ‘अनिवार्य पक्राउ गर्नुपर्छ।’
उच्च अदालतले जिल्लाले जारी गरेको पक्राउ पुर्जीविरुद्ध आदेश दिएमा मात्रै पक्राउ गर्नु नपर्ने उनीहरुको भनाइ थियो। ऋषिङका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आफू उच्चमा जाने प्रक्रियामा रहेको बताए। पक्राउ पुर्जी जारी भएपछि आफैं जिल्ला अदालत गएको उनले सुनाए।
जाहेरी दिएका प्रभात आलेले मुद्दा मिलाउन नेपाली कांग्रेसका नेताहरुले दबाब दिएको उल्लेख गरे। ‘ज्यान मार्ने उद्योगमा जुन किसिमले अनुसन्धान गर्नुपर्ने हो। दोषीलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्नेमा पुलिस प्रशासन सारा मिलेर यो केशलाई दबाउन खोज्दै छन्’, उनले आरोप लगाए।
नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत रहेका ऋषिङका अध्यक्ष श्रेष्ठले भीमाद नगरपालिका–६ मालेबगर पुरानो स्कुलस्थित आफ्नै घरमा बोलाएर कुटपिट गरेको प्रभातको आरोप छ।
जाहेरी दिएका आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन्। जाहेरी दिएका आलेका अनुसार भाइ विलासको जग्गा राजेन्द्रकृष्णले किनेर प्लटिङ गरेर बिक्री गरेका थिए।
७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति कार्यन्वयन नभएपछि विवाद सुरु भएको आलेले बताए। विवाद टुंग्याउन खोज्दा आफूमाथि चोट लाग्ने गरेर कुटेको उनका आरोप छ। आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताएका थिए।