सोमबार बिहान फेसबुकमा स्टाटस लेखेर मर्छु भनेका तर प्रहरीले नागार्जुनको रिसोर्टबाट सकुशल उद्दार गरेका चिकित्सक केशव श्रेष्ठ कांग्रेसी भएको खुलेको छ ।

मंगलवार गृह मन्त्रालयमा गएर गृहमन्त्री रमेश लेखकलाई भेटेका श्रेष्ठले आफू वागमती प्रदेशका १३ अस्पतालमध्ये एकमात्र डेमोक्रेट (कांग्रेस) डाक्टर भएकाले टार्गेटमा परेको बताएका छन् । उनले एमाले र माओवादीको टार्गेटमा परेको आफू एकमात्र कांग्रेस डाक्टरमाथि कांग्रेसकै नेताले गुण्डागर्दी गरेपछि त्यस्तो कदम चालेको बताएका छन् ।

गृहमन्त्रीसँग कुरा गर्दै उनले माओवादीका एक पूर्व सांसदकी छोरीलाई स्पष्टिकरण सोधेपछि आफूमाथि टार्गेट गरिएको समेत बताए । उनले आफूलाई रामेछापमा पोष्टिङ गर्दा समेत पार्टी र मन्त्रीबाटै फोन लगाएको समेत स्मरण गराए ।

गृहमन्त्रीले उनलाई किन त्यस्तो कदम चालेको भनेर सोधपछि उनले यसरी सुनाएः

अंकल कुरा के भने मेरो पोस्टिङ रोकिदा पनि यहाँबाटै फोन गराएको हो प्रमुख सचिव गोविन्द कार्कीलाई । १३ वटा वागमतीका अस्पतालमध्ये म एउटामात्रै हो डेमोक्रेट डाक्टर । एमालेको मन्त्री,एमालेको सचिव त्यो पनि होल्ड गरेर यताबाट गराएको हो । म टार्गेट लिस्टमै थिएँ । त्यहाँ एक दुई जना डाक्टर छन् कार्यकक्षमा नबस्ने,राजनीतिमात्रै गर्ने । माओवादीको एकजना पूर्व सांसदकी छोरी रमा श्रेष्ठ करारको डेण्टल डाक्टर छिन्,(पूर्व गृह राज्यमन्त्री माओवादी नेता श्याम कुमार श्रेष्ठको छोरी) आफ्नो बाउको जस्तै ठान्ने ।

धेरै गुनासो आएपछि मौखिक चेतावनी दिदा पनि नटेरेपछि मैले उनीहरुसँग स्पष्टिकरण सोधेँ । अर्को केदार कार्की भन्ने छ त्यहाँको गुण्डा । पहिला वडाध्यक्ष थियो नेपाली कांग्रेसबाटै पछि टिकट नदिएको पार्टीले । उसको जागिर केही छैन,खाली पैसा माग्ने । करारमा मान्छे राख्दे भनेर दबाब दिने । मैले मेयर लबश्री न्यौपाने उहाँ पनि कांग्रेसकै हुनुहुन्छ,उहाँको मान्छे राख्नु तपाईको ६,७ जना राखिसकेँ केदारजी भनेको थिएँ । तर उसले ५० हजार माग्यो,नदिएपछि धम्की दिन थाल्यो…

प्रहरीले उद्दार गरेका यु्वा डाक्टर भावुक भएर बहकिँदै राजनीतिक कुरा गर्न थालेपछि अर्को बैठकमा जाने हतारोमा रहेका गृहमन्त्रीले उनलाई रोकेका थिए । कसैले भिडिओ समेत रेकर्ड गरिरहेको हुनाले गृहमन्त्री भने सम्हालिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय