
हरेक क्षेत्रमा राजनीति, भ्रष्टाचार र राम्रो गर्नेहरूको खुट्टा तान्ने प्रवृत्तिले युवाहरूको रोजाइ नै परदेश हुन थालेको छ । सोमबार सामाजिक सञ्जालमा अलबिदा लेख्दै आत्महत्या गर्ने योजनामा पुगेका चिकित्सक डा. केशव श्रेष्ठको हकमा पनि ठ्याक्कै यही घटना दोहोरियो । प्रहरीले उनलाई मृत्युबाट जोगाए पनि यो घटनाले नेपालमा सुशासनको जग बसाल्न कति चुनौती खेप्नुपर्छ भन्ने देखाएको छ ।
जिल्ला अस्पताल, रामेछापमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक श्रेष्ठले आफू राम्रो गर्न खोज्दा कर्मचारी, प्रदेश स्वास्थ्य मन्त्रालयलगायत विभिन्न ठाउँबाट दबाब खेप्नुपरेको भन्दै आत्महत्या गर्न बाध्य बनाएको लामो स्टाटस लेखे ।
परिवारलाई सम्बोधन गर्दै लेखिएको स्टाटसले सोमबार दिनभर सामाजिक सञ्जाल तात्यो । केही गर्न खोज्नेहरूलाई राजनीतिक तहमा समस्या सिर्जना हुने काम सिर्जित हुने गरेको भन्दै व्यापक आलोचना पनि भयो । प्रहरीले समयमै सूचना पाउँदा चिकित्सकको ज्यान जोगिए पनि यो घटनाले ठूलो प्रश्न खडा गरेको छ ।
एउटा सामान्य कर्मचारीले राजनीति र सरकारबाटै कति कष्ट सहनुपर्छ भन्ने कुरूप अनुहार छर्लंग भएको छ । चिकित्सकहरूलाई नै यस्तो अवस्थामा ल्याउनेविरुद्ध कडा कारवाही गर्नुपर्ने माग सर्वसाधारणदेखि चिकित्सकहरूबाट उठेको छ ।
ड्युटीमा कडाइ गर्दाकाे परिणाम
नेपालमै केही गर्नुपर्छ भन्ने हुटहुटी भएका २५ वर्षका चिकित्सक श्रेष्ठले जिल्ला अस्पताल, रामेछापमा २५ महिना सेवा गरे । यो अवधिमा उनले १८ महिना अस्पतालको निमित्त सुपरिटेन्डेन्ट भएर काम गरे ।
करारको जागिर हुँदै नेपाल प्रहरी र बागमती प्रदेशको लोकसेवाबाट नाम निकालेर यो पेशामा प्रवेश गरेका श्रेष्ठको स्वभाव बालेनशैलीको रहेको उनलाई चिन्नेहरू बताउँछन् । उनलाई नजिकबाट चिन्ने एक चिकित्सक केशवमा बालेन शैलीको स्वभाव रहेको बताउँछन् ।
‘उनी आफू पनि काम गर्ने र आफ्नो टिमलाई पनि गर्नुपर्छ भन्ने स्वभावका थिए, ती चिकित्सक भन्छन्, ‘केही गर्नुपर्छ, नराम्रो गर्न हुँदैन भन्नेलाई नेपालमा गर्न नदिइने रहेछ, बालेनलाई पनि त्यस्तै छ, उनलाई पनि त्यस्तै असहयोग भयो ।’
चिकित्सकलाई नै यो अवस्थामा पुर्याउने नेपालको राजनीतिक अराजकताले युवाहरू स्वदेशमा बस्ने वातावरण नरहेको उनी बताउँछन् ।
रामेछापका स्थानीय पनि १८ महिनाको अवधिमा श्रेष्ठले राम्रो कामको प्रयास गरेको बताउँछन् । नामको मात्र अस्पताल रहेको जिल्ला अस्पताललाई साँच्चिकै अस्पताल बनाउन श्रेष्ठको ठूलो हात रहेको उनी बताउँछन् ।
अर्का एक स्थानीय पनि श्रेष्ठले जिल्ला अस्पतालमा एउटा सिस्टम बसालेको बताउँछन् । नाम नबताउने सर्तमा उनले भने, ‘श्रेष्ठको नेतृत्वमा अस्पताल चल्दा राम्रा काम भइरहेका थिए । थिति बसाल्न खोज्दा अप्ठ्यारो अवस्थामा पुर्याइयो ।’
लथालिंग अवस्थामा रहेको जिल्ला अस्पताललाई व्यवस्थित् बनाउने योजनाका साथ नेतृत्व तहमा पुगेका श्रेष्ठलाई अन्ततः त्यहीका राजनीतिक दलका नेता तथा कार्यकर्ताले आत्महत्या गर्नेसम्मको अवस्थामा पु¥याएको उनी बताउँछन् ।
उनले सेवाग्राहीलाई अस्पतालमा पाइने सबै सेवा समयमै उपलब्ध गराउने कडा नियमपछि अस्पताल भित्रैका कर्मचारी र बाहिरका राजनीतिक दलका कार्यकर्ताहरूकै दबाबले यस्तो अवस्था आएको अर्का स्थानीय बताउँछन् ।
भन्छन्, ‘भर्खरको युवा केही गर्नुपर्छ भन्ने हुटहुटी भएका श्रेष्ठले त्यहीअनुसार नियम कडा पारे तर यहाँका कर्मचारीलाई मन परेन । दबाबमा सरुवा गर्नेदेखि यस्तै गतिविधि सुरु भए ।’
डा. श्रेष्ठले नेतृत्व गरिसकेपछि प्रत्येक महिनाको अन्तिम साता काठमाडौंबाट विशेषज्ञ चिकित्सकहरू बोलाएर निःशुल्क जाँच गर्नुका साथै अस्पतालमा नियमित स्वास्थ्य शिविर सुरु गरेका थिए । जिल्ला अस्पताललाई प्रदेश अस्पताल बनाउन पनि उनको ठूलो हात छ ।
पहिले १५ बेडमा रहेको अस्पताललाई उनले ५० बेडसम्मको बनाएका छन् भने उनकै पहलमा २ बेड आईसीयू पनि जिल्ला अस्पतालमा सञ्चालनमा आएको छ ।
ती स्थानीय भन्छन्, ‘कर्मचारी राजनीतिक शक्तिबाट आएका हुन्छन्, उनी आएपछि सबैलाई काममा लगाए, ड्युटी कडा बनाए । घाम तापेर दिन बिताउने गरेकाहरूलाई यो पचेन अनि कर्मचारीको असन्तुष्टि बढ्यो ।’
यो बीचमा पनि श्रेष्ठलाई सुरुवा गर्न निकै चलखेल भयो । श्रेष्ठले आफ्नो अस्पतालका कर्मचारीदेखि प्रदेश स्वास्थ्य मन्त्रालयले काममा हस्तक्षेप गरेको स्टाट्समा लेखेका छन् ।
अस्पतालभित्र भइरहेको किचलो तब बाहिर आयो जब करारका ५ जना स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयमा उजुरी दिए । उनीहरू अस्पतालमा प्रमुखको कारण बस्न, खानदेखि काम गर्न समस्या भएपछि मन्त्रालयले कदम अगाडि बढाएको मन्त्रालयले जनाएको छ ।
यो विषयमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलाल भने जिल्ला अस्पतालबाट उजुरी परेपछि दुवै पक्षलाई बोलाएर छलफल गरेको बताउँछन् ।
उनी भन्छन्, ‘हामीलाई काम गर्न मात्र होइन, बस्न खान पनि समस्या आयो भनेर कर्मचारीले गुनासो गरेपछि सरुवा गरेका हौं । तर, उहाँले आत्महत्या नै गर्नुपर्ने अवस्थासम्म हामीले चोट पुग्ने काम गरेका छैनौं ।’
स्वास्थ्य मन्त्रालयले यो विषयमा छानबिन गर्न समिति नै बनाएको थियो । छानबिन समितिले छानबिन गरिरहँदा श्रेष्ठको सरुवा भएको थियो ।
समितिका संयोजक डा. सञ्जु राय स-साना कुराहरूलाई व्यवस्थापन गर्न नसक्दा अवस्था यहाँसम्म पुगेको पाइएको बताउँछिन् ।
‘स-सानो कुरामा विवाद भएको पाइयो, भान्छा कोठामा खाना पकाएर खान नदिने, काम गर्ने वातावरण पनि राम्रो नभएको कर्मचारीको भनाइ थियो । हेर्दा सामान्य लाग्ने कुरा नै जटिल रूपमा आउँदा समस्या भएको हो,’ उनले भनिन् ।
यो विषयमा हामीले रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेसँग पनि बुझेका छौं । उनले कसैले आत्महत्या गर्न खोज्दैछ भने त्यसपछि आफूहरूले नजाने धारणा राखे । उनी एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्यो भन्दैमा सुसाइड नोट लेखी आत्महत्या गर्न जानु हास्यास्पद भएको बताउँछन् ।
‘एउटा कर्मचारी सरुवा भएर जाँदा आकाश खसेको जस्तो गरेका छन्, सुसाइड गर्न हिँड्या छन् रे, कता होटेलमा मासुभात खाएर बसेका छन् रे भन्ने सुनियो, तर त्यस्तो होइन । त्यस्तो हो भने के हामी राजनीतिकर्मी चुनाव हार्यौं भनेर सुसाइड गर्दै हिँड्ने हो त ?’ उनले प्रश्न गर्दै भने ।
उनी डा. श्रेष्ठको व्यवस्थापकीय कमजोरी रहेको दाबी गर्छन् । न्यौपाने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको जेठान समेत हुन् ।
डा. श्रेष्ठले दुःख दिए भनेर उल्लेख गरिएका केदार कार्की रामेछाप नगरपालिका वडा न ८ का पूर्ववडाध्यक्ष हुन् । उनी पनि नेपाली कांग्रेसका नेता रहेको बुझिएको छ ।