काठमाडौं । नेकपा एसका एक स्थायी कमिटी सदस्य ठगीको मुद्दामा पक्राउ परेका छन् । दुईजना फरार छन् । वैदेशिक रोजगारी ठगीमा सो पार्टीका स्थायी कमिटी सदस्य देवसिंह (डीएस) महता एक सातादेखि हिरासतमा छन् । पूर्वश्रममन्त्री शेरबहादुर कुँवरका भाइ तथा अछाम जिल्ला कमिटीका नेता राजेन्द्र कुँवर र विनोद थापा भने फरार भएको पाइएको छ ।

पक्राउ परेका स्थायी कमिटी सदस्य महताले पार्टी सञ्चालनका लागि पार्टी अध्यक्षको सचिवालयले निर्देशन दिएपछि रकम संकलन गरेको बयान दिएका छन् । यद्यपि, त्यसरी रकम संकलन गर्न कोही, कसैलाई पत्राचार वा निर्देशन नदिएको पार्टीको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

ठगीमा परेपछि पीडितहरूले पटक-पटक पार्टी कार्यालय धाएर रकम फिर्ता गराउन प्रयास गरे । तर, स्थायी कमिटी सदस्य, पूर्वमन्त्रीका भाइसहितबाट भएको ठगीबारे अन्य नेताले कुनै पहल नगरेको पीडितको गुनासो छ । पीडितहरू पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाललाई भेट्न पुगे । भेटेलगत्तै स्वयं अध्यक्ष नेपालविरुद्ध अख्तियारले पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुद्दा चलाएपछि आफूहरुको माग सुनिदिने कोही नभएको एक पीडितले बताए ।

कोरियामा कृषि कार्यका लागि सिजनल भिसामा मान्छे पठाउने नाममा उनीहरूले विभिन्न जिल्लाका ३५ जनाबाट डेढ करोडभन्दा बढी रकम उठाएको भनी वैदेशिक रोजगार विभागमा जाहेरी दर्ता भएको छ । पीडितहरूको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो ।

वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महतालाई एक साताअघि नयाँ बसपार्क क्षेत्रबाट गिरफ्तार गरेको कार्यालयका प्रवक्ता एसएसपी काजीकुमार आचार्यले बताए । मुद्दाको अनुसन्धान र अभियोजन वैदेशिक रोजगार विभागबाटै हुने कारण प्रहरीलाई यसबारे थप जानकारी नहुने प्रवक्ता आचार्यले बताए ।

‘हामीले पक्राउ गर्नका लागि सहयोग गरेको मात्रै हो’, उनले बताए । कोरिया पठाइदिने आश्वासनपछि महतालाई ९ लाख रूपैयाँ बुझाएका एक पीडितका अनुसार उक्त रकम ठगीमा ३ जनाको प्रत्यक्ष संलग्नता देखिए पनि सिन्धुली स्थायी ठेगाना भएकी एक महिला केन्द्रीय सदस्यसहित पार्टीका अन्य नेता यसमा संलग्न रहेको स्रोतले बतायो । ‘हामीले तीनजनालाई पैसा दिएका हौं, त्यसमध्ये दुईजना अझै फरार छन् । रकम व्यवस्थापनमा अन्य केही नेताको संलग्नता देखिन्छ’, ती पीडितले सुनाए । महता माओवादी पृष्ठभूमिका नेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय