भारतको गुजरात राज्यको अहमदावादमा एयर इन्डियाको बोइंग ७८७ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको छ। उक्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी सहित २४२ जना यात्रु सवार रहेको र उनीहरूको अवस्था अहिले अनिश्चित रहेको जनाइएको छ। विमान लण्डन ग्याटविक विमानस्थलतर्फ उडान भर्ने क्रममा टेकअफको दुई मिनेटभित्रै विमानस्थलको सीमा नजिकै विस्फोट भएको र दुर्घटना भएको पुष्टि भएको छ।

एयर इन्डियाको उडान नम्बर एआई-१७१ दिउँसो १:३८ बजे (नेपाल समयअनुसार २:२३ बजे) अहमदावादको सारदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो। दिउँसो १:४० बजे (नेपाल समयअनुसार २:२५ बजे) मेघानिनगर क्षेत्र नजिकै रहेको एयर कस्टम कार्गो कार्यालयको नजिकै विमान दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक रिपोर्ट अनुसार विमानको इन्जिनमा प्राविधिक गडबडीका कारण दुर्घटना भएको हो। यद्यपि, यसबारे अझै धेरै जानकारी प्राप्त भएको छैन। उडान भर्ने क्रममा विमानले विमानस्थलको भित्तामा ठोक्किएको र त्यसपछि आगो लागेको जानकारी प्राप्त भएको छ।

घटनास्थलमा तत्काल ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको र विस्फोटको प्रभावले स्थानीय क्षेत्रमा त्रास फैलिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।विमानमा २३२ यात्रु र १० चालक दलका सदस्य गरी जम्मा २४२ जना सवार रहेको र यो विमान लामो दूरीको यात्राका लागि पूर्ण रूपमा इन्धन भरेको थियो, जसले आगो र विस्फोटलाई बढाएको हुन सक्ने अनुमान गरिएको छ। नयाँ जानकारी अनुसार विमानको भग्नावशेषबाट अहिलेसम्म ५० वटा शव निकालिएको छ। राहत तथा उद्धारकर्मीहरूले आगो निभाउनुका साथै भग्नावशेषमा घाइते र मृतकहरूको खोजी गरिरहेका छन्।

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल सुरतबाट अहमदावाद प्रस्थान गरेका छन् र राहत र उद्धारकर्मीहरूको धेरै टोलीहरू पनि विमानस्थलमा पठाइएको छ। दुर्घटनापछि भारतीय गृहमन्त्री अमित शाहले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसँग कुरा गरेर दुर्घटनाको बारेमा सोधपुछ गरेका थिए। उद्धार कार्य तीव्र गतिमा जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय