सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको ब्युरोका एक अधिकृतले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्साल स्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनीविरुद्ध साइबर अपराध गरेको उजुरी परेको ब्युरोका अधिकृतहरू बताउँछन् ।

होटल शंकर ग्रुपको स्वामित्वमा छ । होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर उनले होटल खरिद गरेको पाठकले समाचारमा आरोप लगाएका थिए ।

पाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए ।

त्यसमा पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरबारे चर्चा गर्दै दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको र शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि जोडिएको दाबी गरेका छन् । साथै उनले जयवीरको सम्पत्तिमा पनि प्रश्न उठाएका छन् ।

जयवीरले यसअघि आफ्ना बुवा प्रधानमन्त्री हुँदा डायपर र सेनिटरी प्याड आयात गर्दा कर छुट हुनेगरी करको दर हेरफेर गरेको पनि पाठकले आफ्नो समाचार सामग्रीमा उल्लेख गरेका छन् ।

१७ तले सो होटलको नक्सापास विवादको बिचमा देउवा परिवार सो होटलसँग जोडिएको समाचारमा दाबी गरिएको छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्– ‘कपोलकल्पित सामग्री प्रसारण गरेको भनेर उजुरी परेको थियो, त्यसैमा पक्राउ पुर्जी जारी भएको छ ।’

यस सम्बन्धमा शंकर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गरेर खण्डन गरेको थियो । साथै त्यसविरुद्ध कानुनी प्रक्रिया अपनाउने उल्लेख पनि गरेको थियो ।

विज्ञप्तिमा लेखिएको छ, ‘राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडी हुँदै नभएको विषय सृजना गरी सार्वजनिक भएका यस्ता भ्रामक समाचारहरुले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुर्‍याउने कार्य भए गरेको प्रति गम्भिर आपत्ती जनाउँदै नेपालको प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अपनाइने व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौं ।’

त्यसैले पत्रकार पाठकलाई यही विषयमा पक्राउ पुर्जी जारी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय