
केही दिनअघि मात्रै काठमाडौंमा भारतीय लागूऔषध कारोबारी सक्रिय रहेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई सूचना आयो । चार जना कारोबारी रहेको र उनीहरूले खैरो हेरोइनको कारोबार गर्दै आएको सूचना पाएपछि ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण प्रसाद कोइराला सक्रिय भए।
कोइरालाले मंगलबार अपरान्ह दुई जना सुन्धारामा बसेको थाहा पाएपछि त्यहाँ टोली पठाए । उक्त टोलीले भारत बिहारस्थित दानापुरका २२ वर्षीय सुमित कुमार र ३५ वर्षीय चन्दन कुमार जैसवाललाई भेट्यो । केरकार गरेपछि उनीहरूले दुई जना क्रमशः भारत इस्लामपुरका ससित आलम र मोहम्मद मन्जिर आलम टोखातिर रहेको सूचना चुहाए ।
ब्यूरोको टोलीले चन्दन र सुमितसँग आलमद्वयलाई सम्पर्कमा ल्यायो । उनीहरू टोखामा ग्राण्डी हस्पिटल नजिकै रहेको सूचना पाएपछि प्रहरीले उक्त एरिया कर्डन गर्यो । आलमद्वयलाई देखेपछि प्रहरीले रोक्न खोज्दा उल्टै प्रहरीलाई रड प्रहार गर्न थाले । प्रहरीले आफू बच्न र कारोबारीलाई पक्राउ गर्न शुरूमा दुई राउन्ड गोली प्रहार गर्यो ।
उनीहरू नरोकिएपछि अरु पाँच राउन्ड गोली चलाउँदा आलमद्वय घटनास्थलमा गोली लागेर ढले । तत्कालै प्रहरीले घाइतेलाई ट्रमा सेन्टर उपचारका लागि लग्यो । आलमद्वयले रड प्रहार गर्दा घाइते दुई जना प्रहरीलाई भने लाजिम्पाटस्थित प्रहरी अस्पताल लग्यो । घाइतेमध्ये मोहम्मदलाई दुई र ससितलाई एक वटा गोली लागेको छ ।
एसएसपी कोइरालाका अनुसार आलमद्वयले साउण्ड बक्समा लागूऔषध खैरो हेरोइन लुकाएर ल्याएका थिए । प्रहरीले तौल एकिन गर्दा २०० ग्राम भन्दा बढी रहेको जानकारी कोइरालाले दिए ।
‘शुरूमा हामीलाई सुन्धारामै कारोबार हुँदैछ भन्ने थियो, तर फलोअप गर्दै जाँदा टोखामा मुख्य कारोबारी बाइकमा हुइँकिएको देखियो,’ कोइरालाले भने, ‘प्रहरीले बाइक रोक्न खोज्दा उल्टै रड प्रहार गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको हो ।’
उनले पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको बताए ।