
नेकपा एमालेका मधेश प्रदेशका संसद दिपेन्द्रकुमार ठाकुर बिरुद्द भष्टाचारको मुदा दर्ता भएको छ । अख्तियारले मंगलबार ६ करोड ७९ लाख १२ हजार ३८३ विगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
धनुषाको औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादवसमेत १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले औरही गाउँपालिकामा अस्पताल निर्माणमा अनियमिता गरेको विषयमा साँसद ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको पुष्टि गरे ।
उनका अनुसार अस्पताल निर्माण गर्न आफ्ना मान्छेलाई ठेक्का पार्न सांसद ठाकुरले चलखेल गरेका थिए ।
ठाकुरविरुद्ध भष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वत: निलम्बनमा परेको छ ।
मधेशका सत्तारुढ एमाले सबभन्दा ठूलो दल रहेको छ । एमालेका २५ साँसद छन् । भ्रष्टाचार सम्बन्धी मुद्दा परेसँगै ठाकुर सांसद पदबाट निलम्बित भएका छन् । उनी संसदीय दलका उपनेता थिए ।
२०७८ सालको सुरुवातमा प्रकाशित बोलपत्रमा “Key Activities” संशोधन गरी बोलपत्रदातालाई अनावश्यकरुपमा सिमित गराइएको थियो। त्यसअनुसार, एउटा मात्र अस्पताल निर्माण गरेको अनुभव भएका, साथै M35 Interlock with Multicobble in Multicolour का ५१०० वर्गमिटर काम गरेको ठेक्काको अनुभव भएको कम्पनी मात्र सहभागी हुन सक्ने प्रावधान राखिएको थियो।
यसका कारण १५ मध्ये १३ वटा बोलपत्रदाता प्राविधिक मूल्याङ्कनमा अयोग्य घोषित भएका थिए। बाँकी दुई कम्पनी — लुम्बिनी/डी.एण्ड.एन. जेभी र समानन्तर/बबुल जेभी — ले म्याद थपको अन्तिम दिन मात्रै बोलपत्र दर्ता गरेका थिए। यसरी म्याद थप र “Key Activities” मा गरिएको संशोधनले प्रतिस्पर्धालाई कृत्रिमरूपमा सीमित बनाएको र छनोट प्रक्रियामा पारदर्शिता नदेखिएको उजुरीपछि अनुसन्धान थालिएको हो।
सबैभन्दा कम दर रु. १२,३५,५०,२४८.८५ पेश गरेको प्रतिष्ठा/धुलिखेल/एक्सिस एसियन जेभीलाई प्राविधिक मूल्याङ्कनमा असफल घोषित गर्दै रु. १९,१४,६२,६३२.८३ कबोल गर्ने लुम्बिनी/डी.एण्ड.एन. जेभीलाई ठेक्का दिइएको थियो।
यसरी करिब ६ करोड रुपैयाँ महंगो प्रस्तावलाई छनोट गरिएको ठहर गरिएको छ। यो प्रकरणमा सांसद ठाकुरले ठेक्का प्रक्रियामा प्रभाव र मिलेमतो गरेको प्रमाणित भएको अख्तियारको दाबी छ।