
कैलालीको टीकापुरमा चेकिङको क्रममा एक महिलामाथि प्रहरीले हातपात गरेको आरोपपछि जिल्ला प्रहरी कार्यालय कैलालीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
प्रहरी नायब उपरीक्षक राजकुमार सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । शुक्रबार साँझ सत्ती प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) यज्ञराज पन्तले ‘तँ’ भनेर सम्बोधन गरेको निहुँमा टीकापुर-७ मा स्कुटी रोकिएकी राजकुमारी कुँवर शाहमाथि कुटपिट गरेका थिए ।
प्रहरी हवल्दार सुरेन्द्र बोहरासँग सामान्य भनाभनपछि सई पन्तले पोसाकमै नरही महिलामाथि हातपात गरेको भिडियो सार्वजनिक भएको छ । पीडित शाहले इलाका प्रहरी कार्यालय टीकापुरमा लिखित निवेदन पेश गरेकी छिन् ।
घटनासँग सम्बन्धित भिडियो सामग्रीहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि घटनाले थप चासोको विषय बनाएको छ । यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय कैलालीले ती दुई जना संलग्न प्रहरी कर्मचारीलाई कार्यालयमा तानेर अनुसन्धान अघि बढाएको छ ।
गठित समितिले यथासिघ्र अनुसन्धानको प्रतिवेदन पेश गर्नेछ। छानबिनपछि दोषी पाइएको खण्डमा सम्बन्धित प्रहरीमाथि आवश्यक कारबाही गरिने बताइएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बर बहादुर बिकले प्रहरीको आचरण र व्यवहारमा परिवर्तन ल्याउने भनिरहेकै बेला उक्त घटना घटेको छ ।