
सप्तकोसी नदीमा उद्धार अभ्यासका क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान हरदेव राजबंशीको शव फेला परेको छ। शुक्रबार प्रहरीले कोसी ब्यारेजको दुईकिलो दक्षिणमा पर्ने सप्तकोसी नदीबाट राजवंशीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए।
राजबंशी पौडी, दौड र अनुशासनमा अब्बल थिए। गत चैत १८ गते सशस्त्र प्रहरी बलको बराह वाहिनी पकलीको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा उनले तीन विधामा पुरस्कार जितेका थिए।
कोशी प्रदेशका उत्कृष्ट अनुशासित कर्मचारीको रूपमा पनि राजबंशीलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजीपी) राजु अर्यालले पुरस्कृत गरेका थिए। वार्षिक उत्सवका अवसरमा आयोजित दौड र पौडी प्रतियोगितामा पनि राजबंशी प्रथम भएका थिए। उनले एकै दिन अनुशासन, दौड र पौडी तीनवटै विधामा पुरस्कार थापेका थिए।
चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी तालिम केन्द्रबाट गोताखोर तालिम लिएर अब्बल बनेका राजबंशी सप्तकोसीमा डुबेर सदाका लागि बिदा भएका छन्। उनको निधनले परिवारमात्र होइन, सम्पूर्ण बल शोकमा डुबेको छ। उनका श्रीमती र तीन वर्षीया छोरी छन्।
सशस्त्र प्रहरीको मधेस प्रदेश कार्यालयका अनुसार राजबंशी डेढ महिनाअघि कोशी प्रदेशबाट मधेस प्रदेशमा काज सरुवा भई खटिएका थिए। सप्तकोसी नदीमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गएको पाँच सदस्यीय गोताखोर टोलीमा उनी पनि सहभागी थिए। अभ्यासको क्रममा उनी र अर्का जवान सुरज साउद बेपत्ता भएका थिए।
राजबंशीको शव जिल्ला अस्पताल सप्तरीमा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको मधेस प्रदेश प्रमुख डीआइजी कृष्ण ढकालले जानकारी दिए। शव झापाको गौरादह लगेर अन्त्येष्टि गरिएको उनले बताए।
डुबेर बेपत्ता भएका साउदको भने हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन। सप्तकोसी ब्यारेजमा बिछ्याइएका होम पाइपहरूमा फसेर उनीहरू निस्कन नसकेको अनुमान गरिएको छ। ब्यारेजमुनि पानी प्रवाह सहज बनाउन राखिएको ती होम पाइपभित्र फसेको हुन सक्ने बताइएको छ।
साउदको खोजीका लागि कुरिनटारबाट गोताखोरसहितको ७० सदस्यीय टोली परिचालित गरिएको डीआइजी ढकालले बताए। राजबंशी र साउद दुवै मधेस प्रदेश प्रहरी कार्यालय बर्दिबासमा कार्यरत थिए।