
पाँचपटक डडेल्धुराबाट संघीय निर्वाचन लडेका कर्णसिंह रावल (मम्याल बाजे) को निधन भएको छ ।
शुक्रबार रावलको ८५ वर्षको उमेरमा निधन भएको हो । नवदुर्गा गाउँपालिकाको मम्या पुर्ख्यौली घर भई जिल्ला सदरमुकाम अमरगढी बस्दै आएका रावल २०५६ सालयताका हरेक निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए ।
मालपोत कार्यालयमा तीन दशक सेवा गरेर २०५४ सालमा अवकाश पाएका रावलले २०४८ सालको संसदीय निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सघाएका थिए । तर, निर्वाचनपछि देउवाले आफ्नो सरुवा गरिदिएको रावल बताउँथे । २०५४ मा सेवानिवृत्त भएका रावल २०५६ देखि देउवाविरुद्ध चुनाव लड्न थाले ।
‘म बाँचुञ्जेलसम्म शेरबहादुर देउवासँग चुनाव लडिरहन्छु, उहाँलाई कहिल्यै निर्विरोध जित्न दिन्न,’ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्तापछि उनले भनेका थिए । २०७९ को चुनावमा रावलले ४४२ मत पाएका थिए ।