आफ्नै छोरीको अश्लील भिडिओ श्रीमतीलाई पठाएर ब्ल्याकमेल गरेको अभियोगमा एक पुरुषविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । साइबर अपराधसम्बन्धी उजुरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार अभियोगपत्र दायर गरेको हो ।

अभियोगपत्रका अनुसार पीडित नाबालिगकी आमाले २४ वैशाखमा छोरीको अश्लील भिडिओको आडमा श्रीमान्‌ले दुःख दिनुका साथै फेसबुक स्टोरीमा राखेर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । नाबालिगकी आमाका अनुसार उनका श्रीमान्‌ले फेसबुकमार्फत छोरीको गोप्य तस्वीर तथा भिडिओ पठाएर ‘थप भिडिओहरू पनि छन्, आवश्यक परे प्रहरीलाई देखाइदिन्छु’ भन्दै धम्कीपूर्ण मेसेज पनि पठाएका थिए ।

प्रहरीको अनुसन्धानअनुसार ती पुरुषले फेसबुक फेक आईडी प्रयोग गरेर छोरीको अश्लील सामग्री उनको मेसेन्जरमा पठाएका थिए । साथै उनले छोरीको नाम उल्लेख गरेर ‘धेरै भिडिओ अपलोड गर्नुछ तर म गर्दिनँ । गर्ने भए अस्ति पुलिसलाई देखाइदिन्थेँ’ भन्दै मेसेज पठाएका थिए । त्यसबाहेक सोही आईडीबाट स्टोरीमा अश्लील फोटो पनि सार्वजनिक गरेको अभियोगपत्रमा उल्लेख छ । त्यही उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा आरोपित पुरुषलाई प्रहरीले काठमाडौं टोखा क्षेत्रबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

पीडित नाबालिगले प्रहरीलाई दिएको बयान अनुसार उनले प्रेमीसँग अश्लील फोटो र भिडिओ खिचेकी थिइन् । उनले समय समयमा आफ्ना बुवाको फोनमा सिम राखेर गुगल आईडी र स्न्यापच्याट प्रयोग गर्ने गर्थिन् । तर, ती अकाउन्ट उनले लगआउट गर्न बिर्सेकी थिइन् । फोनमा गुगल आईडी र स्न्यापच्याट हेर्ने क्रममा उनले छोरीले प्रेमीसँग खिचेको अश्लील भिडिओ फेला पारेका थिए ।

आरोपित पुरुषले प्रहरीलाई दिएको बयान अनुसार २५ वर्षअघि उनको बिहे भएको थियो । उनै श्रीमतीबाट भएका दुई छोरीको पालनपोषण र शिक्षादिक्षाको काम उनैले गर्दै आइरहेका थिए । तर, श्रीमतीले घरमा सधैँ बुबा आमासँग झगडा गर्ने सँगै बस्न नमान्ने भएपछि केही समयअघि छोरी लिएर घरबाट निस्किएकी थिइन् ।

“घरबाट निस्किएका श्रीमती र छोरीलाई मैले पटक पटक सम्पर्क गर्न खोजेँ,” आरोपी पुरुषले बयान दिंदै भनेका छन्, “तर, उनीहरूले मलाई सामाजिक सञ्जाल र फोनमा ब्लक गरेकाले कुनै पनि माध्यमबाट सम्पर्कमा आउन नसकेपछि अर्को फेसबुक आईडी बनाएँ ।”

त्यसबाट उनले छोरीको आईडी एड गरे । र, मेसेज पठाए । तर, छोरीको मेसेन्जरबाट कुनै रिप्लाई नआएपछि उनले आफूसँग धेरै भिडिओ भएको र प्रहरीलाई देखाइदिने धम्की दिएका थिए । पछि त्यही फेसबुक आईडीको स्टोरीमा उनले छोरीको अश्लील फोटो राखे । यसरी छोरीको अश्लील फोटो पठाएर धम्की दिनु आफ्नो गल्ती भएको ती पुरुषले प्रहरीलाई बयान दिने क्रममा स्वीकारेका छन् ।

विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७(१) अन्तर्गत उनीमाथि सार्वजनिक नैतिकता, प्रतिष्ठा र गोपनीयताविरुद्ध सामग्री प्रकाशन गरेर मानसिक पीडा पुर्‍याएको अभियोगमा मुद्दा चलाइएको छ । अभियुक्तमाथि कैद तथा जरिवाना दुवै सजाय माग गरिएको छ । यो मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय