ललितपुरको एक भिल्लामा विगत ५ महिनादेखि अवैध रूपमा सट्टेबाजी खेलाउँदै आएको आरोपमा १७ जना पक्राउ परेका छन् ।

१२ जना नेपाली र ५ जना भारतीय नागरिकहरू भिजिट भिसामा दुबई पुगेर गत डिसेम्बरमा नेपाल फर्किएका हुन् । उनीहरूले भिजिट भिसामा दुबई जाँदा म्यानपावरलाई डेढदेखि २ लाख रुपैयाँ बुझाएको बयान प्रहरीलाई दिएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा ललितपुरको धापाखेलमा रहेको एक घरमा छापा मारेर यो समूहलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा अछाम साँफेबगरका डायमन्ड कुँवर, सोही ठाउँका विकास थापा, अछाम चौरपाटीका मनोज बोगटी, सोही ठाउँका सुवास खड्का, कञ्चनपुर कुष्णपुरका राजेन्द्रबहादुर महता, कैलाली गौरीगंगाका अरविन खड्का, दाङ लमहीका विष्णुकुमार राउत, डोटी पूर्वीचौकीका तिलक खड्का, रुपन्देही तिलोत्तमाका पूर्णबहादुर दर्लामी मगर, नवलपरासी गैँडाकोटका जीतबहादुर महतो, भारत बिहारका ऋषभ रोज, बिहारकै दीपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह र मोहितकुमार सिंह छन् ।

पक्राउ परेका सबै फरक–फरक मितिमा भिजिट भिसामार्फत दुबई गएको देखिन्छ ।

अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार गोप्य रूपमा नेपाली भूमि प्रयोग गरेर भारतीय गिरोहले नेपालमा अवैध सट्टेबाजी खेलाउँदै आएको सूचना पाएपछि छापा मारेर नियन्त्रणमा लिइएको हो ।

अनुसन्धानका क्रममा यो समूहले खेलाउँदै आएको सट्टेबाजीअन्तर्गत ८१ करोड रुपैयाँको बैंकिङ ट्रान्जेक्सन भएको देखिन्छ ।

‘लामो समयदेखि क्रिकेट, अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता लगायत खेलमा अनलाइनमार्फत सट्टेबाजी गराएको पाइयो,’ आचार्यले भने, ‘सुनसान एरियामा कसैले थाहा नपाओस् भनेर घर नै भाडामा लिएर खेलाइएको रहेछ ।’

भारतीय अनलाइन बेटिङ गिरोहको सम्पर्कमा पुगेका नेपाली युवालाई मासिक ८० हजार रुपैयाँसम्म तलब दिएर अवैध धन्दामा काम लगाउने गरेको पाइएको छ ।

त्यसका लागि भारतीय गिरोहले मासिक सवा २ लाख तिरेर घर भाडामा लिएको पाइएको छ । धापाखेलको एक घर मासिक १ लाख २५ हजार रुपैयाँ तिरेर भाडामा लिएको पाइएको छ ।

सनराइज अपार्टमेन्टको एक फ्ल्याटमा भने मासिक ५५ हजार रुपैयाँ भाडा तिर्ने गरिएको पक्राउ परेकाहरूले बताएका छन् ।

प्रहरीले धापाखेलको घरबाट १५ जनालाई र अपार्टमेन्टबाट २ जनालाई पक्राउ गरेको छ । यो गिरोहका तीन भारतीय नागरिक भने फरार छन् । पक्राउ परेकाहरू सबै कामदार हुन् । यसका मुख्य योजनाकार पनि भारतीय नागरिक नै रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय