
सार्वजनिक यातायात ठप्प भएका बेला बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने १०२ जना ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । सोमबार दिउँसो २ बजेसम्म बढी भाडा लिने ६ जना र अफलाइन बार्गेनिङ गर्नेसहित ९६ जना गरी कुल १०२ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार, जनगुनासोका आधारमा खटिएको ट्राफिक प्रहरीको टोलीले कारबाही गरेको हो ।
“यातायात बन्द भएको मौकामा अफलाइन बार्गेनिङ गर्ने र बढी भाडा लिने गुनासो आएको थियो । त्यसपछि ट्राफिक परिचालन गरी ठाउँको ठाउँ कारबाही गरेका हौँ । कारबाहीमा परेका सबै इन्ड्राइभ र पठाओ राइडर हुन्,” उनले भने ।
ट्राफिक प्रहरीका अनुसार, उनीहरूलाई ५०० देखि पाँचहजार रुपैयाँसम्म जरिवाना गरिएको छ ।
गण्डकी सरकारले ‘राइड सेयरिङ’लाई मान्यता दिनेगरी कानुन ल्याएपछि यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आज देशभर यातायात सेवा ठप्प पारेका छन् ।