रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको चर्चा भइरहेको बेला नयाँ शक्ति मानिएको रास्वपा र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो सक्रियता बढाइरहेका छन् ।

राप्रपाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित दीपक बोहोरोको मृत्यु भएसँगै यहाँ उपनिर्वाचनको चर्चा सुरु भएको छ भने विभिन्न राजनीतिक दलहरूले त्यसको तयारीसमेत गरिरहेका छन् ।

यस क्रममा नयाँ शक्तिको रूपमा अगाडि आएको रास्वपाको तर्फबाट पनि यहाँ सक्रियता बढेको छ । विशेष गरी रास्वपा सभापति रवि लामिछाने थुनिएको रुपन्देही कारागारसमेत यही क्षेत्रमा पर्ने भएकोले पनि धेरै नेताहरू उनलाई भेट्न र पार्टी कामलाई समेत जोड्न यहाँ धेरै आउजाउ गरेका छन् ।

पछिल्लो पटक पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका स्वतन्त्र उम्मेदवार सागर ढकालले यहाँ सक्रियता बढाएका छन् ।

अहिलेसम्म रास्वपाले उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने कुनै चर्चा बाहिर ल्याएको छैन अन्य दलहरूबाट आकांक्षीको नामहरू बाहिर आएपछि रास्वपाबाट यसको कुनै तयारी नगरिएको नेताहरूले बताएका छन् ।

आइतबार यहाँ आएका नेता सागर ढकालले पुराना दलबाट अब मुलुक नबन्ने भएकाले नयाँ शक्तिलाई साथ दिन यहाँका उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । उनले राजनीतिलाई पेशा बनाउने व्यक्तिहरुलाई साथ नदिन आग्रह गर्दै चुनावमा सबैभन्दा बढी खर्च गर्ने नै भ्रष्टाचारी भएको तर्क गरेका छन् ।

‘स्वतन्त्र नागरिक अभियान रुपन्देही, सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा ढकालले यस्तो बताएका हुन् । ‘२०८४ सालमा सक्षम, योग्य उम्मेदवारलाई सहयोग गर्नुस् उनले भने आफूले सकेको प्रयास गर्ने हो, नतिजाको आशा गर्नुहुँदैन ।

उनले काँग्रेस, एमाले र माओवादीबाट जनता वाक्क भएको बताए । उनले आफू २०८४ साल अघि हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट पारे । ‘देशका लागि केही गरौँ भनेर आएको हुँ, इमान्दार र उपयुक्त उम्मेदवारलाई साथ दिनुस्, ’उनले भने ।

स्वतन्त्र नागरिक अभियान रुपन्देही, सिद्धार्थनगरका संयोजक नारायण प्रसाद भण्डारीले मुलुकमा भ्रष्ट र प्रतिशोधको राजनीति चलिरहेको बताए ।

उनले स्वतन्त्र उम्मेदवार र स्वतन्त्र उम्मेदवार भई जनप्रतिनिधिबाट निर्वाचितहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले राम्रो काम गर्नेलाई काम गर्न नदिइएको दाबी गर्नुभयो । स्थानीय झबिन्द्र प्रसाद बेल्बासेले पार्टीको सिण्डिकेट तोड्न सामूहिक रूपमा अघि बढ्नुपर्ने बताए ।

भैरहवा आएका सागर ढकालले जिल्ला कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग भेट गरेको रास्वपा युवा नेता मधु अर्यालले जानकारी दिए । ढकाल २०७९ सालमा डडेलधुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय