
अहिले सामाजिक सञ्जालमा एउटा भिडिओ निकै भाइरल भइरहेको छ। भिडिओमा ललितपुर महानगरपालिकाको दमकल देख्न सकिन्छ भने दमकलको अगाडि पाँच तले घरको छतमा आगो बलिरहेको छ ।
भिडिओको पृष्ठभूमिमा एक पुरुष बोलिरहेका छन्, “ल हेर्नुहोस्, यस्तो पनि आगलागी हुन्छ ? यहाँ आगो ताप्न के बालेको थियो, दमकल नै बोलाइ दिइसकेछन् । अब पेट्रोल खर्च भएन ? यसको पेट्रोल खर्च कसले तिर्छ ? सरकारले तिर्छ जस्तो त मलाई लाग्दैन ।”
उक्त भिडिओ भाइरल भएपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आगलागी नै नभइकन दमकल बोलाएको भन्दै हास्यास्पद तरिकाले कमेन्ट गरेका छन् । कतिपयले घरमा सेकुवा पोलेर खानुपर्ने वातावरण समेत नभएको बताएका छन् ।
ललितपुरको जुद्ध वारुण यन्त्र शाखाका कर्मचारी नारायण व्यञ्जनकारका अनुसार उक्त भाइरल भिडिओ १५ गते बेलुका पख इमाडोलमा लिइएको हो । उनले भने, “१५ गते बेलुका ७ बजेतिर इमाडोलको घरमा आगलागी भएको भनेर कल आएको थियो । त्यसपछि हामीले तत्कालै दमकल र अग्नि नियन्त्रकलाई पठाएका थियौँ ।”
तर इमाडोल पुग्दा भने आगलागीको घटना नभएको पाइएको उनले बताए । त्यसपछि दमकल फिर्ता आएको उनले जानकारी दिए । व्यञ्जनकारले भने, “त्यहाँ सेकुवा पोलेर खानको लागि आगो बालिएको रहेछ । छिमेकीहरूले आगो लाग्यो भन्ने सोच्नुभएछ। आगलागीको डर हुन्छ भन्ने थाहै नपाएर घरको छतमा त्यत्रो आगो बालेको हो की जस्तो लाग्यो ।”
महानगरका जुनसुकै क्षेत्रमा आगलागी जस्ता विपद् भएमा त्यसको उद्दारको लागि तत्कालै खटिनु आफूहरूको कर्तव्य रहेको व्यञ्जनकार बताउँछन् । तर, समयमा नै दमकल पुगेको घटनालाई सामाजिक सञ्जालमा भने हाँसोको रूपमा प्रस्तुत गरिएको उनको प्रतिक्रिया छ ।