latest
सोमबार , जेठ २०, २०८२

टेस्ला र स्पेसएक्सका मालिक इलन मस्क शुक्रबारदेखि ह्वाइट हाउसबाट बिदा भएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनाव जिताउन महत्त्वपूर्ण भूमिका खेलेका मस्कले ह्वाइट हाउसमा सरकारी दक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी-डज)को प्रमुखका रूपमा १३० दिनको कार्यकाल शुक्रबार समाप्त गरे।

आफ्नो कार्यकालको अन्तिम दिन उनी ह्वाइट हाउस पुग्दा उनको अनुहारमा केही परिवर्तन देखिएको थियो।

उनको दाहिने आँखा सुन्निएको थियो भने तल्लो भागमा कालो धब्बा देखिएको थियो।

मस्कको आँखामा देखिएको कालो धब्बालाई लिएर उनीमाथि कसैले मुक्का प्रहार गरेको हुनसक्ने भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्।

ह्वाइट हाउसमा डज प्रमुखका रूपमा काम गर्दा उनले कैयौं त्यस्ता कामहरू गरेका थिए जुन कामले उनीमाथि रूष्ट हुनेहरूको सूची लामै छ।

सरकारी खर्च कटौती गर्ने भनेर जागिरबाट निकालिएका संघीय कर्मचारीहरू, उनकै सन्तानका आमा, टेस्लाका सेयर होल्डरहरू, टेस्ला शोरूममा आगो लगाउनेहरू, क्यापिटल हिलका रिपब्लिकनहरू लगायत धेरै लामो सूची रहेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले लेखेको छ।

ह्वाइट हाउसमा पत्रकारहरूले उनको आँखाको डिलमा कालो धब्बा भएको विषयमा थरिथरिका प्रश्न राखे। उनले लागुपदार्थ प्रयोग गरेको सम्बन्धमा ‍आएका नयाँ रिपोर्टबारे पनि पत्रकारहरूले प्रश्न गरे। त्यतिबेला मस्कले रिसाएर ‘होइन’ भनेका थिए।

उनको आँखामा कालो धब्बा भएकोबारे पत्रकारहरूले प्रश्न गरेपछि सँगै भएका राष्ट्रपति ट्रम्पले पनि चासो व्यक्त गरेका थिए। त्यसलाई उनले मस्कसँग मजाक समेत गरेका थिए भनेर न्युयोर्क टाइम्सले लेखेको छ।

यद्यपि मस्क आफैले आँखामा धब्बा हुनुको कारण खुलाए। त्यो कसैले कुटपिट गरेको भन्दा पनि उनका पाँच वर्षीय छोरा एक्स एश ए-ट्वेल्भले मुक्का प्रहार गर्दा भएको हुनसक्ने मस्कले बताएका छन्।

‘म एक्ससँग खेल्दै थिएँ। मैले उनलाई मेरो अनुहारमा मुक्का हान भनेपछि उसले मुक्का हानेको पनि थियो,’ मस्कले भने।

‘म एक्ससँग रमाइलो गर्दै थिएँ, र मैले उसलाई भनेँ, ‘आऊ, मेरो अनुहारमा मुक्का हान,’ र उसले हानेको पनि थियो। मलाई त्यतिबेला खासै केही महसुस भएक थिएन। पछि नीलो भएको होला,’ मस्कले पत्रकारहरूसँग भने।

‍मस्कको कुरा ट्रम्पले समेत रमाइलो मानेर सुनिरहेका थिए।

‘डाम नै बसेको छ र? मैले त याद नै गरेको थिइनँ,’ मस्कको आँखामा हेर्दै ट्रम्पले भनेका थिए। एक्सले त्यस्तो डाम नै बस्ने गरी मुक्का हान्न सक्छन् भन्ने आफूलाई भने पत्यार लाग्ने ट्रम्पले बताए। ‘ चिन्नुभएको छ भने उसले त्यस्तो गर्न सक्छ,’ ट्रम्पले भनेका थिए।

एक्स प्रायः ह्वाइट हाउसमा आफ्नो बाबु मस्कसँगै देखिन्थे। ओभल अफिसमा कैयौं पटक राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलन गर्दा मस्कसँगै उनका छोरा एक्स पनि सँगै देखिन्थे।

आँखाको डिलमा कालो धब्बा नै हुनेगरी मुक्का प्रहार गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा एक्सलाई ‘सानो बक्सर’को उपनाम दिइएको छ र १३० दिनसम्म मस्कले कति मुक्का खाए होलान् भनेर रमाइलो प्रश्न गरिएको छ।

यद्यपि १३० दिनसम्म ह्वाइट हाउसमा बस्दा छवि धुमिल भएजस्तै ह्वाइट हाउसबाट बाहिरिँदा पनि अनुहारमा कालो धब्बा लिएर निस्के भनेर न्युयोर्क टाइम्सले लेखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय