
कुनै बेलाका चर्चित अर्थमन्त्री डा. रामशरण महत गम्भीर रोगको सिकार बनेका छन् ।उनलाई ‘स्मरण शक्ति कम हुँदै जाने, नचिन्ने, बिर्सिने (अल्जाइमर जसलाई डिमेन्सिया पनि भनिन्छ) को समस्या भएको छ ।’
महतलाई यस्तो हुन थालेको केही वर्षयता हो । तर, पछिल्लो ६/७ महिनायता भने महत यो समस्याबाट अलि धेरै नै पीडित छन् । वर्षौंसम्म राजनीतिको उच्च तहमा बसेर काम गरेका नेता भएकाले उनलाई भेट्न मान्छेहरू आउँछन्, आउन खोज्छन् । तर, महत सहजै चिन्दैनन् । निरन्तर भेटिरहेका मान्छेलाई अलिअलि ठम्याउँछन् । कतिपय पारिवारिक सदस्यलाई पनि सहजै ठम्याउन सक्दैनन् ।
समस्या बढ्दै गएपछि थाइल्यान्डको बैंकक र भारतका विभिन्न अस्पतालमा उपचार गरियो । तर, अस्पतालले सुधार हुन गाह्रो छ भनेका छन् । अहिलेकै अवस्थामा राख्ने (स्टेबल) मात्रै विकल्प भएको चिकित्सकको सल्लाह छ ।
‘समस्या आएपछि बैंककदेखि भारतका धेरै अस्पतालमा पुर्यायौं, तर पूरै सुधार हुन गाह्रो छ भन्नुहुन्छ,’ अर्का एक पारिवारिक सदस्यले भने, ‘उहाँका लागि विकल्प भनेकै अहिलेको स्थितिलाई स्टेबल राख्न मद्दत गर्ने मात्रै हो । उहाँलाई देखिएको समस्या सुधार भएर जाने स्थिति देखिएको छैन ।’
स्वास्थ्यमा समस्या आएयता भेटघाटका लागि पहिलेजस्तो नेता/कार्यकर्ताको लाइन लाग्दैन । तर, उनलाई सम्झेर केही शुभेच्छुक भने आउने गरेको पारिवारिक स्रोत बताउँछ । दुई महिनाजति अगाडि कांग्रेस नेता डा. शेखर कोइराला भेट्न आएका थिए । उनीबाहेक कांग्रेसका अन्य सिनियर नेता भेट्न नआएको धेरै नै भइसक्यो ।
स्वास्थ्यकै कारण उनी पार्टी बैठकमा आउन छाडेको पनि लामै समय भइसकेको छ । अब उनलाई सक्रिय राजनीतिमा आउन र पुरानै लयमा फर्किन कठिन देखिएको छ ।