शनिबार , फागुण ३०, २०८२

कुनै बेलाका चर्चित अर्थमन्त्री डा. रामशरण महत गम्भीर रोगको सिकार बनेका छन् ।उनलाई ‘स्मरण शक्ति कम हुँदै जाने, नचिन्ने, बिर्सिने (अल्जाइमर जसलाई डिमेन्सिया पनि भनिन्छ) को समस्या भएको छ ।’

महतलाई यस्तो हुन थालेको केही वर्षयता हो । तर, पछिल्लो ६/७ महिनायता भने महत यो समस्याबाट अलि धेरै नै पीडित छन् । वर्षौंसम्म राजनीतिको उच्च तहमा बसेर काम गरेका नेता भएकाले उनलाई भेट्न मान्छेहरू आउँछन्, आउन खोज्छन् । तर, महत सहजै चिन्दैनन् । निरन्तर भेटिरहेका मान्छेलाई अलिअलि ठम्याउँछन् । कतिपय पारिवारिक सदस्यलाई पनि सहजै ठम्याउन सक्दैनन् ।



समस्या बढ्दै गएपछि थाइल्यान्डको बैंकक र भारतका विभिन्न अस्पतालमा उपचार गरियो । तर, अस्पतालले सुधार हुन गाह्रो छ भनेका छन् । अहिलेकै अवस्थामा राख्ने (स्टेबल) मात्रै विकल्प भएको चिकित्सकको सल्लाह छ ।

‘समस्या आएपछि बैंककदेखि भारतका धेरै अस्पतालमा पुर्‍यायौं, तर पूरै सुधार हुन गाह्रो छ भन्नुहुन्छ,’ अर्का एक पारिवारिक सदस्यले भने, ‘उहाँका लागि विकल्प भनेकै अहिलेको स्थितिलाई स्टेबल राख्न मद्दत गर्ने मात्रै हो । उहाँलाई देखिएको समस्या सुधार भएर जाने स्थिति देखिएको छैन ।’

स्वास्थ्यमा समस्या आएयता भेटघाटका लागि पहिलेजस्तो नेता/कार्यकर्ताको लाइन लाग्दैन । तर, उनलाई सम्झेर केही शुभेच्छुक भने आउने गरेको पारिवारिक स्रोत बताउँछ । दुई महिनाजति अगाडि कांग्रेस नेता डा. शेखर कोइराला भेट्न आएका थिए । उनीबाहेक कांग्रेसका अन्य सिनियर नेता भेट्न नआएको धेरै नै भइसक्यो ।

स्वास्थ्यकै कारण उनी पार्टी बैठकमा आउन छाडेको पनि लामै समय भइसकेको छ । अब उनलाई सक्रिय राजनीतिमा आउन र पुरानै लयमा फर्किन कठिन देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय