
सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी (दनुवार) फरार रहनुभएको छ । मेयर दनुवार विरुद्ध एक १८ वर्षीया युवतीले बलात्कारको आरोपमा किटानी जाहेरी दर्ता गरेपछि उहाँ फरार रहनुभएको हो । पीडित युवतीले आफूलाई जबरजस्ती करणी गरेर गर्भवती बनाइएको र सन्तानसमेत जन्मिएको आरोप लगाएको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत सिन्धुलीले मेयरलाई पक्राउ गर्न आदेश समेत दिएको छ ।
पक्राउपुर्जी जारीको झण्डै ३ हप्ता भएपनि मेयरलाई पक्राउ भने गर्न सकिएको छैन । मेयर दनुवारको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । उहाँका अनुसार मेयर लुकिछिपि बसेकाले पक्राउ गर्न समस्या भएको हो । खोजीकार्य भइरहेको उहाँले बताउनुभयो ।
पीडित युवती दुधौली स्थित वेलकम होटलमा काम गर्नुहुन्थ्यो, जहाँ मेयर अधिकारी नियमित रूपमा जाने गर्नु हुन्थ्र्यो । मेयर दनुवारले बिरामी दाजुलाई सघाउने बहानामा युवतीलाई मदिरा सेवन गराई जबरजस्ती करणी गरेको आरोप छ । पीडितले फागुन महिनामा छोरा जन्माएको बताइएको छ ।
जाहेरी दर्ता हुनु अघि मेयर अधिकारीले राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसँग भेट गरी उजुरी रोक्न दबाब दिन लगाएको खुलासा भएको छ । स्रोतका अनुसार, पीडितलाई रकम दिएर उजुरी फिर्ता गराउने र डीएनए परीक्षणको नमुना साट्ने योजना समेत बनाइएको थियो ।
सिन्धुलीबाट निर्वाचित सांसद लेखनाथ दाहाल ‘राजन’ सहित र (किटानी जाहेरीको अघिल्लो दिन बालुवाटारस्थित राष्ट्रियसभा अध्यक्ष दाहालको निवासमा पुग्नुभएको मेयर अधिकारीले आफूलाई जोगाउन प्रहरीलाई उजुरी नलिन दबाब दिन लगाएको स्रोतले बताएको छ ।
गुपचुप राखिएको यो घटना धेरै पुरानो भएपनि माओवादी नेताहरुको दबाबका कारण अधिकारी विरुद्ध प्रहरीले किटानी जाहेरी लिन मान्नु भएको थिएन । पीडित युवतीले आफूलाई अधिकारीले जबर्जस्ती करणी गरेर गर्भवती बनाएको र अहिले सन्तान समेत जन्मिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उहाँको कर्तुत सार्वजनिक भएको हो ।
मेयर अधिकारीले आफूविरुद्ध उजुरी नलिन राष्ट्रियसभा अध्यक्ष दाहाल लगायत अन्य जिल्ला र केन्द्रीय तहका माओवादी नेता मार्फत प्रहरीलाई दबाब दिन लगाएका थिए । तर, चौतर्फी विरोध र प्रमाणको रुपमा सन्तान रहेको दाबी पीडित युवतीले गरेपछि सिन्धुली प्रहरी उजुरी लिन बाध्य भएको हो ।
मेयर अधिकारीका सहयोगी युवराज दनुवारले सांसद दाहालसहित मेयर अधिकारीले राष्ट्रियसभा अध्यक्ष दाहालसँग भेट गरेको तस्बिर फेसबुकमा सार्वजनिक गरेका गर्नुभएको थियो । उक्त तस्बिर मेयरकै सहयोगी दनुवारले फेसबुकमा सार्वजनिक गरेपछि सांसद दाहाल सहित सामूहिक भेट गरेको आधिकारिकता पुष्टि भएको हो ।
२०७९ को स्थानीय तहको निर्वाचनमा माओवादीबाट दुधौलीको मेयरमा निर्वाचित भएका अधिकारीलाई उम्मेदवार बनाउन पनि राष्ट्रिय सभा अध्यक्ष दाहालकै प्रमुख भूमिका रहेको सिन्धुलीका एक माओवादी नेता बताएका छन् । घटनापछि स्थानीय राजनीतिक दलहरू विभाजित देखिएका छन् । केही नेताहरूले मेयरको पक्षमा बोलिरहेका छन् भने, अन्यले निष्पक्ष छानबिनको माग गरेका छन् । सामाजिक सञ्जालमा पनि घटनाको व्यापक चर्चा भइरहेको छ, जसले न्यायिक प्रक्रिया र राजनीतिक हस्तक्षेपबारे प्रश्न उठाएको छ ।