नागढुंगा-नौबिसे सडकखण्डअन्तर्गत नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् । दुर्घटनापछि बाटो अवरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन लागेको छ, जसका कारण यात्रुहरू हैरान भएका छन् ।

दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको हो । प्रहरीका अनुसार उकालोमा ब्रेक नलागेपछि बस ब्याक भएर नालीमा पल्टिएको चालकले बताएका छन् ।

दुर्घटनामा दुई जना यात्रु सिसाले काटिँदा सामान्य घाइते भएका छन् भने रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगर गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि शहीद मेमोरियल अस्पताल, कलंकीमा ल्याइएको छ ।

दुर्घटनामा परेका बस हटाउनका लागि क्रेन पठाइएको छ । यद्यपि, बाटो खुल्न केही घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।

यसअघि धादिङको थाक्रेमा रहेको पुलमा भ्वाङ परेपछि सडक यातायात अस्तव्यस्त भएको थियो । यस्तोमा आज बिहानको बस दुर्घटनाले नागढुंगा–नौबिसे सडकखण्डमा झन् ठूलो सवारी जाम सिर्जना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय