सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ।

बिहीबार दिउँसाे तीनबजे बस्ने संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्दैछन्।

नेपालको संविधानको धारा ११९ मा प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ। यस वर्ष सरकारले झण्डै २० खर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेकाे छ।

साेही व्यवस्था बमोजिम अर्थमन्त्रीले आव २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए।

संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ।

त्यसअघि प्रतिनिधिसभाको अपराह्न १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ।

त्यसैगरी राष्ट्रियसभाको अपराह्न १ः४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, बजेटमार्फत सरकारी कर्मचारीको तलब बढ्ने गरी ड्राफ्ट तयार भएको छ । निजामती सेवा ऐन, २०४९ को दफा २७ मा सरकारले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, मूल्यवृद्धि तथा कुल दरबन्दीसमेतका आधारमा सरकारी कर्मचारीको तलब, भत्ता पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ । ऐनको दफा २७ को उपदफा १ क मा निजामती कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्न मुख्यसचिको अध्यक्षतामा एक पुनरावलोकन समिति हुने व्यवस्था छ ।

यस अघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा निजामती कर्मचारीको तलब १५ प्रतिशतले बढेको थियो । त्यस यता कर्मचारीको तलब बढेको छैन । अघिल्लो पटक अर्थात २०७३/७४ मा विष्णु पौडेलले २५ प्रतिशत तलब वृद्धिको निर्णय गरेका थिए।जुन हालसम्मकै उच्च बृद्धि हो । यस पटक अर्थमन्त्रीको कुर्सीमा उनै पौडेल छन ।

अर्थ मन्त्रालय स्रोतका अनुसार बजेटमा यस पटक तल्लोतहका कर्मचारीको १२ प्रतिशत र अधिकृत तहका कर्मचारीहरुको तलब १० प्रतिशतले बढाउने तयारी छ । कर्मचारीको तलब समानरुपमा बढाउँदा तलबको अनुपात धेरै फरक पर्ने भएका कारण यस पटक शाखा अधिकृत र सोभन्दा माथिल्लो तहका कर्मचारीको तलब १० प्रतिशत र राजपत्र अनकिंत कर्मचारीको तलब १२ प्रतिशतले बढाइन लागेको हो, अर्थ मन्त्रालय स्रोतले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय