
१० वर्षअघिको प्रेम, त्यसपछि विवाह र चार महिनामै पाएको धोका (सम्वन्ध विच्छेद) अनि त्यो धोका भित्र उम्रिएको प्रतिशोध। जसका कारण रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ स्थित होराइजन स्कूल नजिकको मिलिजुली पथमा बुधबार बिहान एक महिला र उनका दुई निर्दाेष छोरीको ज्यान गएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, प्रेममा पाएको धोका र विछोडको पीडालाई आत्मसात गर्न नसक्दा सुजन कोइरालाले पूर्वपत्नी ३३ वर्षीया दीपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या गरेको खुलेको छ।
सुजन र पूर्विनवलपरासीको कावासोतीकी दीपाले १० वर्षअघि प्रेम विवाह गरेका थिए। तर, विवाहको ४ महिनापछि नै सहोदर दाजु सुधीरको हत्याको कसुरमा सुजन जेल परे। त्यसपछि दीपा उनीबाट टाढिएकी थिइन। टाढिने मात्र होईन, सुजनसँग सम्बन्धविच्छेद गरेर उनले कावासोतीकै शंकर ढकालसँग विवाह गरिन। स्नेहा र हिमानी शंकरकै छोरी हुन। शंकर हाल यूएईमा कार्यरत रहेको खुलेको छ।
सुजन गत वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए। जेलमा वस्दा उनले हस्तकला सामग्री बनाउने सीप सिकेका थिए। छुटेपछि उनले घरमै ती सामग्रीहरू बनाउन र बिक्री गर्न थालेका थिए। छिमेकीहरूसँग उनको ब्यवहार सामान्य थियो। उनले यस्तो भयंकर अपराध गर्लान भनेर छरछिमेकीले कल्पना पनि गरेका थिएन।
घट्ना भईसकेपछि बुधबार विहान पनि उनले छिमेकीहरुसँग सहजतापुर्वक गफगाफ गरेका थिए। तर, त्यसको केही समयपछि नै प्रहरी उनको घरमा पुग्यो। त्यसपछि मात्रै थाहा भयो, भित्र भयावह अवस्था रहेछ।
प्रहरी पुग्दा पाल्पाको तानसेनमा स्वास्थ्यकर्मीको रूपमा कार्यरत दीपा तथा उनका छोरीहरु स्नेहा र हिमानीको हत्या गरिएको थियो। सुजनले दीपालाई घरमै बोलाएर बुधबार विहानका राति करिव ४ बजे घट्ना घटाएको खुलेको छ।
जानकारी अनुसार दीपा दुई छोरी लिएर मंगलबार बेलुका सुजनको घरमा पुगेकी थिईन। राति त्यही सुतेका उनीहरु मस्त निद्रामा रहेका बेला चक्कु प्रहार गरी हत्या गरेको खुलेको छ। तीनै जनाको शव एउटै बेडमा फेला परेको थियो।
घट्नाको जानकारी सुजनका साथीले नै प्रहरीलाई दिएका थिए। उनलाई घरबाटै प्रहरीले पक्राउ गरेको छ। प्रहरीको अनुशन्धानमा सम्वन्धविछेद गरी सकेकी दीपा छोरीहरुसहित कसरी सुजनको घरमा पुगिन भन्ने खुलिसकेको छैन। उनीहरुको सम्पर्क हुने माध्यमसमेत नखुलेको प्रहरीले जनाएको छ। यस विषयमा अनुसन्धान भईरहेको एसपी प्रदिपबहादुर क्षेत्रीले बताए।
स्थानीयले भने केही समय अघिदेखि बेलाबेला एक जना महिला मास्क लगाएर सुजनको घरमा आउने गरेको बताएका छन। छिमेकी पदमा रानाले केही समय अघिदेखि नै सुजनको घरमा एक जान महिला आउने गरेको आफूले देखेको उनले बताइन।
दीपाकी दिदी मन्जु अर्यालले पनि दीपा कसरी सुजनको घरमा गइन भन्ने आफूले बुझ्न नसकेको बताइन।