
आज जेठ १५ गतेगणतन्त्र दिवसका दिन सत्तारुढ नेकपा एमाले र राजावादी समूहले एकै स्थान रत्नपार्कमा प्रदर्शन गर्दै छन्।
तर एमालेले कार्यक्रम गरिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहले प्रदर्शन गर्ने सहमति भएको छ।
जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि राजावादीले सोही स्थानमा कार्यक्रम गर्ने सहमति गराएको हो।
एमालेले गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउँदैछ भने राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, हिन्दूराज्य पुनर्स्थापनालगायतका माग राखेर प्रदर्शन गर्न लागेका छन् ।
दुवैले भृकुटीमण्डप, सहिदगेट, रत्नपार्कलाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरेका छन् ।
प्रशासनले समय निर्धारणका लागि एमाले र राप्रपाका नेताहरूसँग पनि छलफल गरेको थियो । जिल्ला प्रशासन कार्यालयले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सम्पर्क गरी समय निर्धारणबारे छलफल गरेको थियो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले भोलि दुई पक्षबीच हुने प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने विषयले सुरक्षा प्रबन्ध मिलाइएको बताए । ‘सीडीओ सा’बले राप्रपाका जिम्मेवार व्यक्तिहरूसँग पनि छलफल गर्नुभएको छ, समय छुट्टाछुट्टै भएकाले शान्तिपूर्ण रूपमा कार्यक्रम सकिन्छ भन्ने ठानेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘कुनै अप्रिय गतिविधि नहोस् भन्नेमा हामी सचेत छौं ।’