
गत वर्ष चैत १५ गते काठमाडौँमा भएको राजावादी प्रदर्शनका क्रममा तीनकुनेस्थित एक घरमा भएको आगजनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्वयंसेवक तथा सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य गोकर्ण शाही र तारा राजावादी भनिने सरोज गौतमले आफूहरूको संलग्नता रहेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
प्रहरी बयानमा गोकर्ण शाहीले आफूसहित सरोज गौतम, शिवसेनाका दण्डपाणि रेग्मीलगायतको समूहले उक्त घरमा अनधिकृत रूपमा प्रवेश गरी आगो लगाएको बताए ।
उनले भने, “हामीले सटरको ताला फोरेर भित्र छिरेर आगजनी गर्यौँ । त्यसपछि पेरिसडाँडास्थित नेकपा माओवादीको केन्द्रीय कार्यालय तोडफोड गर्न गएका थियौँ ।” माओवादी कार्यालयमा वाईसीएलका सदस्यहरू देखेपछि उनीहरू डेरातर्फ फर्किएको उनको बयान छ । सामाजिक सञ्जालमार्फत पत्रकार रजकको मृत्यु भएको थाहा पाएको उनले बताए ।
यस्तै, सरोज गौतमले पनि प्रहरीसमक्ष आगजनीमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । उनले चैत १५ को कार्यक्रमबारे दुर्गा प्रसाईं, धवल शमशेर जबरा र रवीन्द्र मिश्रसँग पटक–पटक कुराकानी भएको खुलाए ।
बिहान १० बजे नै प्रदर्शनस्थल पुगेका गौतमले रवीन्द्र मिश्र र धवल शमशेरले स्टेजबाट उत्तेजक भाषण गरेको र दुर्गा प्रसाईँको नेतृत्वमा भीड निषेधित क्षेत्रतर्फ गएर संसद् भवन कब्जाको नारा लगाएको बताए । प्रहरीले रोक्न खोज्दा भीड उत्तेजित भएको र ढुंगामुढा प्रहार भएको उनले बयानमा उल्लेख गरेका छन् ।
गौतमका अनुसार, उक्त घरको सटरको ताला फोरेर भित्र छिरेपछि तोडफोड र लुटपाट भएको थियो । गोकर्ण शाहीको हातबाट लाइटर लिएर उनले आगो लगाएको र आगो दन्किएपछि सबै डेरातर्फ भागेको उनले बताए । सामाजिक सञ्जालबाट मात्रै उक्त आगजनीमा पत्रकार रजकको मृत्यु भएको थाहा पाएको उनको दाबी छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार दुर्गा प्रसाईँसहित ५० जनाविरुद्ध आगजनी, तोडफोड र लुटपाटको आरोपमा मुद्दा दर्ता गरेको छ । राप्रपाको एटीएफ, पीडीएफ, आरटीएफ र शिवसेनासहितका संगठनका २५–३० जनाको समूहले योजनाबद्ध रूपमा आगजनी र तोडफोड गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।