मान्छेको जीवन एउटा यात्रा न हो– कहिलेकाहीँ हिँड्दाहिँड्दै बाटो र गन्तव्य फेरिन सक्छ। विनिता कठायतको जीवनयात्रा पनि कुनै बायोपिकभन्दा कम छैन। मोडैमोड, संयोगैसंयोगले भरिपूर्ण। संघर्ष पनि छ, सस्पेन्स पनि छ, रोमान्चकता छ, उत्सुकता छ, परिवर्तन छ, भावनात्मक गहिराइ छ, प्रेरणा छ र सँगसँगै उनको जीवनका अनेक मोडसँग जोडिएका सहायक पात्रहरू पनि छन्।

कर्णालीको जुम्लामा जन्मिए पनि विनिता काठमाडौँमै हुर्किइन्। राजनीति उनको गन्तव्य थिएन, फिल्ममेकिङ पढ्न मुम्बई गइन्। ७ वर्ष त्यहीँ बित्यो। नेपाल फर्केर फिल्ममै सक्रिय भइरहेकी थिइन्। कोभिड अघितिर फेसन डिजाइनिङ पढ्न यूके जाने तयारीमा लागिन्।

तर, कोभिडले यतै रोक्दियो। रवि लामिछाने कार्यकारी निर्देशक रहेको ग्यालेक्सी टीभीमा पुगिन्।

‘ग्यालेक्सीमा जति एंकर र कार्यक्रम सञ्चालक हुनुहुन्थ्यो। सबैको म ड्रेस डिजाइन गर्थें,’ आफ्नो कथा सुनाउने क्रममा विनिताले भनिन्, ‘उहाँहरूले कस्तो लुगा लगाउँदा राम्रो हुन्छ भनेर नयाँ नयाँ एक्सपेरिमेन्ट गर्थ्यौँ। त्यतिबेला महिलाकेन्द्रित ‘पर्खालबाहिर’ कार्यक्रमसमेत निर्देशन गरिरहेको थिएँ।’

डेढ वर्ष रवि लामिछानेसँग काम गर्दा उनको लगाव, प्रभाव र क्रेज देखेर अचम्मित हुन्थिन्। रविलाई भेट्न आउने मान्छेहरूको लाइन र धेरैको समस्या समाधान गरिदिएको दृश्य देख्दा असाध्यै प्रभावित थिइन्।

‘त्यसैले उहाँले नयाँ पार्टी खोल्दा मेरो सहभागिता हुनु सौभाग्यको कुरा थियो,’ विनिताले सम्झिइन्, ‘प्रज्ञा प्रतिष्ठानमा उहाँले राजनीतिमा आउने घोषणाका लागि गरेको कार्यक्रममा जाँदासम्म म राजनीतिमा जाने भन्ने थिएन। तर, उहाँ र उहाँको पार्टीलाई भोट हाल्छु भन्नेचाहिँ थियो।’

उता ०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै थियो, रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावको तयारी गर्दै थियो यता विनिता ग्यालेक्सीमा काम गरिरहेकी थिइन्। एक रात एक्कासि एउटा कल आयो, जसले विनिताको दिमाग रन्थनियो। एक लयमा हिँडिरहेको जिन्दगीमा एक्कासि अर्को मोड आइदियो।

‘दीपक बोहोरा दाइले एक्कासि राति फोन गरेर ‘पिछडिएको क्षेत्र’बाट समानुपातिकमा नाम राख्नुपर्छ भनेर कुरा गर्नुभयो,’ विनिता सम्झिन्छिन्, ‘मेरो जिजुबुबासम्मको पारिवारिक पृष्ठभूमि राप्रपाको हो। राजसंस्थाको कुरा गर्ने परिवार। दादाको पुस्ता नेपाली कांग्रेस हुनुभयो। मेरो मिश्रित राजनीतिक पृष्ठभूमिमा परिवारले के भन्ने होलान् भन्ने भयो। अझ म कर्णालीको छोरी। दादाको राजनीति गाह्रो पर्ला भन्ने कुरा पनि निस्कियो। त्यसैले रातभरि मैले अरु नै विकल्प खोजेँ। अरु साथीहरूलाई नाम राख्न भनेँ। कसैले मानेनन्। अब आफै होमिनुपर्ने भयो। म भोट हाल्छु पनि भन्ने, सहयोग गर्छु पनि भन्ने अनि साथ नदिँदा त अन्याय हुन्छ भनेर आफै नाम राख्न तयार भएँ।’

तर रास्वपाको समानुपातिक सूचीमा नाम राखे पनि यो कुरा घरमा भन्ने हिम्मत उनमा आएन। समाचारमा नाम आउँदासम्म उनले घरमा भनिनन्। एक दिन एकजना आफन्तले उनलाई भने– ‘तिम्रो नाम रहेछ नि सूचीमा।’

तैपनि उनले स्वीकारिनन्।

‘दीपक बोहोरा दाइहरू डडेल्धुराको हो, त्यतैको कोही विनिता कठायतलाई राखे होलान्,’ उल्टै ढाँट्न खोजिन्।

‘त्यसपछि मैले निश्चल बस्नेत अंकल र स्वस्तिमा खड्का साथीसँग सल्लाह लिएँ,’ विनिताले भनिन्, ‘उहाँहरू दुवैले रवि लामिछानेलाई विश्वास गर्छौ भने आफ्नो मनले भनेको गर भन्नुभयो। बाहिर रहेका एकजना साथीले पनि त्यसरी नै प्रोत्साहित गर्नुभयो। बुबाले पनि रवि लामिछानेको पार्टीमा नाम जोडिएछ भन्नुभयो। बुबा त उत्साहित पो हुनुभएको रहेछ। बुबा आफैले जागिर छोडेर आऊ, भोट हाल्न जानुपर्छ भन्नुभयो। त्यसपछि म खुसी भएँ। ’

लगत्तै जागिरबाट राजीनामा दिएर सिधै जुम्ला पुगिन् विनिता।

विनिता जब गाउँ गाउँ पुगिन्, विस्तारै जनताले प्रेम देखाए, भोटको आश्वासन दिए। विनिताका अनुसार कर्णालीबाट रास्वपाको अपेक्षित मत नै आयो। तर, अझै सांसद बन्ने/नबन्ने टुंगो भइसकेको थिएन। सबै पार्टी नेताका घर र कार्यालय धाइरहेका थिए तर उनी मौन थिइन्। एक दिन जब पार्टी कार्यालय पुगिन्, त्यसपछि सांसद बन्नेमा ढुक्क भइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय