आइतबार भक्तपुरमा मृत फेला परेकी रोशनी शाही तिनै व्यक्ति थिइन् । महरा प्रकरणदेखि नै रहस्यमयी पात्रका रुपमा चर्चामा आएकी उनको मृत्यु पनि यतिबेलासम्म रहस्यमै छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेकी स्वास्थ्यकर्मी रोशनी शाही भक्तपुरमा मृत फेला परेकी छन् ।

भक्तपुरको सूर्यविनायक– २ वृहस्पतिमार्गस्थित लक्ष्मीश्वरी महतोको घरमा ३० महिनादेखि डेरा गरी उनी बसेकी थिइन् । शनिबार दिनभर उनको चालचुल थियो । तर, आइतबार विहानैदेखि न उनी देखा परिन्, न त बन्द कोठा नै खुल्यो ।

दिउँसो १२–१ बजेसम्म पनि कुनै चालचुल नभएपछि घरमा बस्नेहरूले झ्यालबाट चिहाएर हेर्दा उनी भुइँमा लडेको देखे । अनि, प्रहरीलाई खबर गरे ।

पति चित्रजंग शाही एक गैरसरकारी संस्थाको जागिरका क्रममा विराटनगरमा थिए । सर्लाहीको हरिवनमा मुख्य कार्यालय रहेको बागमती सेवा समाजको विराटनगर शाखामा उनी कार्यरत थिए ।

दिउँसो १२ बजे प्रहरी घटनास्थलमा पुगेपछि रोशनीका पतिलाई प्रहरीले घटनाबारे अवगत गरायो । खबर पाएको एकघण्टाभित्रै उनी जहाज चढेर काठमाडौं ओर्लिए । विमानस्थलबाट सीधै घटनास्थल पुगे । त्यसपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रहरीले ढोका फोड्यो । रोशनीको प्राण थिएन ।

यस्तो दृश्य देखेपछि पतिले त्यति अचम्म मानेनन् । प्रहरीसँग भने, ‘पहिला पनि ओभरडोज ट्याबलेट लिएका घटना छन्, त्यस्तै भयो होला…।’

झ्याल, ढोकामा चुक्कुल लगाएर मृत फेला परेपछि कोही कसैप्रति शंका त भएन । उनले आत्महत्या नै गरेको निष्कर्षमा प्रहरी, पति र प्रत्यक्षदर्शी पुगे । तर, के सेवन गरेर ज्यान गुमाइन् ? अहिलेसम्म केही खुलेको छैन ।

प्रहरीलाई पतिले बताएअनुसार अत्यधिक औषधी सेवन गरी रोशनीले यसअघि पटक–पटक आत्महत्या प्रयास गरेकी थिइन् । यही आधारमा प्रहरीले अत्यधिक औषधी सेवनबाट मृत्यु भएको अनुमान गरेको हो ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अरु कुरा त्यहाँको रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरी बृत्त, थिमीका डीएसपी नवराज ढुंगानाको भनाइ छ ।

२ पृष्ठमा सुसाइड नोट

रोशनीले दुईवटा कागजमा छोराका नाममा सुसाइड नोट लेखेकी छन् । उनका एकमात्र छोरा अहिले अमेरिकामा छन् ।

‘तिमी कुरा बुझ्ने छौ बाबु, तिम्रो भविष्यको लागि मैले केही गर्न सकेको छैन’, उनले लेखेकी छन्, ‘खुशी भएर बाँच्नु, म त यस्तै भएँ ।’

दुवै पानामा उनले छोराबाहेक अन्य प्रसंग केही लेखेकी छैनन् ।

शवसँगै भेटिएको नोटमा उनले लेखेकी छन्– ‘जीवनदेखि हार खाएँ ।’

अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार नोटमा लेखिएको छ– ‘छोरा, मैले तिम्रो भविष्यको लागी केही गर्न सकिनँ, जीवनदेखि हार खाएँ, तिमीलाई पैसा पठाउन नसके आत्महत्या गर्छु सोचेको थिएँ ।’ उनले बाँकेको कोहलपुरमा भएको १७ कट्ठा सम्पत्तिबारे पनि उल्लेख गरेकी छन् । रोशनीका छोरा अमेरिका र छोरी पनि विदेशमा बस्छिन् ।

मानसिक स्वास्थ्य खराब

महरा प्रकरणताका नै उनको मानसिक स्वास्थ्यमा समस्या रहेको पति चित्रजंगले प्रहरीलाई बताएका छन् ।

‘महरा सर हाम्रो अभिभावकजस्तो मान्छे । उहाँमाथि जे–जे भयो, सब मानसिक स्वास्थ्यको गडबडीले भएको थियो’, प्रहरी र प्रत्यक्षदर्शी माझ उनी भन्दै थिए ।

उनको मानसिक स्वास्थ्यकै समस्याका कारण अनेकन पारिवारिक तथा सामाजिक समस्या झेल्नुपरेको पतिको भनाइको आशय थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय