दुई साताअघि घरभित्रै मृत भेटिएका आमा–छोराको हत्यारा पत्ता लागेको छ।

१५ दिनअघि घरभित्रै मृत भेटिएका कटारी नगरपालिका १० सोरुङछविसेका निर्मला थापा र उनका नाबालक छोराको हत्या गर्ने व्यक्ति शुक्रबार प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा स्थानीय ३१ वर्षीय ताराबहादुर मगर रहेका छन्। लामो समय अपराधी पत्ता लगाउन नसकेपछि संलग्नताको आशंकामा एक दम्पतीसहित ३ जनालाई नियन्त्रणमा लिएर ‘सफ्ट र हार्ड कर्नर’बाट प्रहरीले अनुसन्धान थालेको थियो।

अपराध स्वीकारेसँगै उनको विषयमा गहिरो अनुसन्धान थालेको प्रहरीले घट्नामा प्रयोग भएको हतियार र मृतकको मोबाइल समेत फेला पारे पारेको छ। घटना घटाएर लुकाई राखेको खुकुरी १ थान र खोलामा फालेको मृतकको फुटेको मोबाइल प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार घटनास्थलदेखि ३ सय मिटर टाढा सोरुङ खोला पारि मगरको घर छ।

निर्मलाका श्रीमान् अशोक केहि वर्ष अगाडीदेखि दोस्रो बिहे गरेर भारतमा बस्दै आएका छन्। निर्मला नाबालक छोराका साथ पसल गर्दै आएकी थिइन्। पसलमा आउने जाने, मदिरा सेवन गर्ने गरेका मगर र निर्मलाबिच विवाहेतर सम्बन्धका घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उनीहरूबिचको हिमचिमलाई लिएर मगरकी श्रीमती र निर्मलाबिच केही समयअघि विवादसमेत भएको प्रहरीको भनाइ छ।घटना भएको राति अभियुक्त मगर महिला सुतेको स्थानमा पुगेका थिए । त्यसपछि उनीहरुबीच विवाद भएको र रिसमा अभियुक्तले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।

अभियुक्तले घरबाट नै खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ । आपसी विवाद भएपछि पटकपटक खुकुरी प्रहार गरेको र सोही क्रममा सँगै सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

घटनापश्चात अभियुक्तले प्रयोग गरेको खुकुरी, मृतक महिलाको मोबाइल, अभियुक्तले घटनापश्चात नजिकैको खोलामा धोएर सुकाएको हाफपाइन्ट प्रहरीले बरामद गरिएको छ ।

प्रहरीका अनुसार अभियुक्त भोलिपल्ट बिहान घटनास्थलमा पनि आएका थिए । कटारी अस्पत्तालमा शव परीक्षणका समयमा स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले तत्काल शङ्का गर्नुभन्दा आवश्यक प्रमाण पुराउन समय लागेको अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताउनुभयो ।

गत भदौ २० गते बिहान ८ः२० बजे सोरुङछविसे वडा कार्यालय परिसरको पसलमा थापा आमा छोरा मृत भेटिएका थिए। वडा कार्यालय परिसरमा सञ्चालित खाजा पसलमा ६ वर्षीय आरुस थापा र उनकी आमा ३८ वर्षीया निर्मला मृत भेटिएका थिए। तीजको दर खाने अघिल्लो दिन दिनभरि पसल चलाएर राति त्यहीँ सुतेका आमा–छोरा बिहान रक्ताम्मे अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर