भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पेस हुने भएको छ।
जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। सो आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाइसकेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ। प्रतिवेदन पेस भएपछि आवश्यक कार्यान्वयन प्रक्रिया अघि बढाइने बताइएको छ।
सचिवालयका अनुसार कार्यान्वयनसम्बन्धी निर्णय पनि सोही बैठकबाट हुनसक्ने सम्भावना छ। बालुवाटार स्रोतका अनुसार नयाँ सरकार गठन हुनु अघि नै प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।
मन्त्रिपरिषद् बैठक बुधबार वा बिहीबार बस्ने तयारी रहेको बताइएको छ। यसबीच प्रधानमन्त्री र केही मन्त्रीहरूले प्रतिवेदनको अध्ययन गरिरहेको स्रोतले जनाएको छ।
बालुवाटार निकट स्रोतका अनुसार प्रतिवेदन कार्यान्वयनमा गएपछि हालै निर्वाचित केही सांसदहरू समेत घटनासँग जोडिन सक्ने अवस्था देखिएको छ।






