प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेपछि नेपाली कांग्रेसभित्र आन्तरिक छलफल तीव्र बनेको छ। यसैक्रममा पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच भेटवार्ता भएको छ।
नयाँ बानेश्वरमा बेलुकादेखि सुरु भएको दुई नेताबीचको छलफल जारी रहेको स्रोतले जनाएको छ। छलफलका क्रममा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी रहेको जानकारी गराएको बताइएको छ।
स्रोतका अनुसार थापाले पार्टीको पराजयको जिम्मेवारी आफूले लिनुपर्ने भन्दै पद त्याग गर्नु उचित हुने धारणा व्यक्त गरेका छन्।
तर उपसभापति शर्माले भने सभापतिले तत्काल राजीनामा नदिन सुझाव दिएका छन्। उनले निर्वाचन परिणामलाई केवल एक व्यक्तिको कमजोरीका रूपमा नभई समग्र राजनीतिक परिस्थिति र परिस्थितिको परिणामका रूपमा बुझ्नुपर्ने बताएका छन्।
शर्माको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ, “यो केवल रास्वपाको जितभन्दा बढी हाम्रो पराजय हो। तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति।”
उनले नयाँ कार्यसमिति गठन भएको पाँच दिनमै उम्मेदवारी दर्ता भएको र करिब ५० दिनभित्रै निर्वाचन सम्पन्न भएको अवस्थालाई पनि ध्यान दिनुपर्ने बताएका छन्। यस्तो परिस्थितिमा राजीनामा गर्नु भन्दा पार्टीभित्र गम्भीर समीक्षा गरेर अवस्था सम्हाल्दै अघि बढ्नुपर्ने उनको धारणा रहेको स्रोतले जनाएको छ।





